नेपालमा मैत्रीपूर्ण फुटबल खेल्न तीन देशको प्रस्ताव

काठमाडौं । नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्न तीन देशले प्रस्ताव गरेका छन् ।
प्यालेस्टाइन सहित तीन देशले नेपालमा आएर मैत्रीपूर्ण फुटबल खेल्नका लागि प्रस्ताव गरेका हुन् ।
एन्फाका अनुसार प्यालेस्टाइन, भारत र बंगलादेशले नेपाल आएर मैत्रीपूर्ण फुटबल म्याच खेल्न प्रस्ताव गरेका छन् ।
नेपाललाई कीर्गिस्तानले समेत मैत्रीपूर्ण खेलका लागि आमन्त्रण गरेको छ ।
गत श्रावण १५ गते बसेको एन्फा कार्यसमिति बैठकले साफ च्याम्पियनसिपको तयारीमा रहेको राष्ट्रिय फुटबल टिमलाई बंगलादेश, भारत, सिंगापुरको राष्ट्रिय पुरुष टोलीसंग मैत्रीपूर्ण खेल खेल्नको लागि पत्रचार भईरहेकाले आवश्यकता अनुसार राष्ट्रिय टिमले मैत्रीपूर्ण खेलको आयोजना तथा सहभागी गर्ने निर्णय गरेको थियो ।
एन्फा महासचिव इन्द्रमान तुलाधरले प्यालेस्टाइन सहित चार देशबाट नेपाललाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव आएको बताए ।
उनले कीर्गिस्तान बाहेक तीन देश नेपाल आएर मैत्रीपूर्ण खेल खेल्न चाहेको समेत उल्लेख गरे ।
नेपालले गत चैतमा आयोजना गरेको थ्री नेसन्स कपमा समेत कीर्गिस्तानको यू–२३ टिम नेपालमा आएर सहभागी बनेको थियो ।
‘सबै कुरा हेरिरहेका छौं । कसरी खेलाउने भन्ने छ । आन्तरिक तयारी छौं । प्रस्ताव आएका छन् । हामीलेनै फाइनल गरेका छैनौं ।’ तुलाधरले खेलपाटीसंग भने ।
उनले कीर्गिस्तान गएको खण्डमा नेपालमा मैत्रीपूर्ण खेलका लागि समय प्राप्त नहुने बताए । त्यसैले नेपालमै मैत्रीपूर्ण खेलका लागि आन्तरिक छलफलमा रहेको उल्लेख गरे ।
नेपालले भारतलाई आमन्त्रण गरेर घरेलु मैदानमा मैत्रीपूर्ण फुटबल खेल्न चाहेको छ । सोही अनुसार नेपालले भारतलाईनै नेपालमा बोलाएर मैत्रीपूर्ण फुटबल खेलको आन्तरिक तयारी गरिरहेको छ ।
‘कीर्गिस्तान गएर खेलेमा नेपालमा अरु खेल छुटिहाल्छ । फिफा म्याच डे अगष्ट २० देखि सेप्टेम्बर १ सम्म मात्र छ । यसैमा छलफल भैरहेको छ ।’ तुलाधरले भने ।