एजेन्सी । लुइस भान गाल नेदरल्यान्ड्स फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
डच फुटबल संघले बुधबार भान गाललाई मुख्य प्रशिक्षक चयन गरिएको जनाएको छ ।
६९ वर्षीय प्रशिक्षकले सन् २०२२ सम्मको लागि टिम हेर्ने जिम्मेवारी पाएका छन् ।
अब नेदरल्यान्ड्सले छनोट भएमा २०२२ को विश्वकप भान गालको नेतृत्वमा खेल्नेछ ।
युरो २०२० को अन्तिम १६ मा नेदरल्यान्ड्स चेक गणतन्त्रको हातबाट पराजित भएपछि प्रशिक्षक फ्रान्क डे बोरले टिम छाडेका थिए । उनको स्थानमा भान गाल आएका हुन् ।
भान गाल तेस्रो पटक नेदरल्यान्ड्सको प्रशिक्षक नियुक्त भएका हुन् ।
भान गालले पहिलो पटक सन् २००० मा डच टिम सम्हालेका थिए । तर सन् २००२ को विश्वकपमा टिम छनोट हुन असफल भएपछि उनले राजीनामा दिए ।
यस्तै सन् २०१२ मा उनी फेरि डच टिममा फर्केका । त्यसको दुई वर्षपछि नेदरल्यान्ड्सको टिम सन् २०१४ को ब्राजिलमा भएको विश्वकपमा तेस्रो स्थान हात पारेको थियो ।
भान गालले क्लब फुटबलमा बार्सिलोना, म्यानचेस्टर युनाईटेड, बायर्न म्युनिख, आयाक्स लगायतका क्लबको प्रशिक्षक भएर काम गरिसकेका छन् ।