एजेन्सी । लण्डन क्लब चेल्सी नयाँ सिजन फरवार्डको खोजीमा छ । मुख्य फरवार्ड नहुँदा प्रिमियर लिगमा म्यान्चेष्टर सिटीलाई खासै चुनौती दिन नसकेको चेल्सी नयाँ सिजन उत्कृष्ट फरवार्ड स्टामफोर्ड ब्रिज उतार्न चाहन्छ ।
गत सिजन चेल्सीले च्याम्पियन्स लिग जित्यो । तर समग्रमा कुनै पनि फरवार्डले राम्रो खेल्न सकेनन् । मुख्य फरवार्डको रुपमा आएका टिमो वार्नरले लय समात्न सकेका छैनन् । सोही कारण चेल्सी लण्डन क्लबका लागि भरपर्दो फरवार्डको खोजीमा छ । तर चेल्सीले फरवार्ड पाउन सकेको छैन ।
क्लब सम्हालेको पहिलो सिजनमै प्रशिक्षक थोमस टुचेलले चेल्सीलाई च्याम्पियन्स लिग जिताए । उनी लण्डन क्लबलाई घरेलु लिगमा समेत बलियो बनाउन चाहन्छन् । त्यसका लागि राम्रो फरवार्डको खोजी छन्, टुचेल ।
चेल्सी समेत टुचेलको माग अनुसारको खर्च गर्न तयार छ । तर क्लबले राम्रो फरवार्ड भेट्न सकेको छैन । बोरुसिया डर्टमण्डका इर्लिङ हालान्ड र इन्टर मिलानका लुकाकुलाई चेल्सीले राखेको प्रस्ताव अस्विकार भएको छ ।
इन्टर मिलानले भर्खरै रोमेलु लुकाकुका लागि चेल्सीको प्रस्ताव अस्विकार गर्यो । लण्डन क्लबले लुकाकुका लागि ८५ मिलियन पाउण्डको प्रस्ताव गरेको थियो ।
बोरुसिया डर्टमण्डका फरवार्ड इर्लिङ हालान्ड ल्याउने प्रयास बिफल भएपछि चेल्सीले २८ वर्षिया लुकाकुमा प्रयास थालेको थियो । यस समर ट्रान्सफरमा चेल्सीले हालान्डलाई मुख्य प्राथमिकतामा राखेको थियो ।
यसै सिजन जाडोन साञ्चोलाई म्यान्चेष्टर युनाइटेड पठाएको डर्टमण्डले हालान्ड नबेच्ने निर्णय गरेको छ । हालान्ड समेत क्लबमै खुसी देखिएका छन् ।
यता सिरि ए क्लब इन्टर वित्तिय समस्या झेलिरहेको छ । तर क्लब बेल्जियमका अन्तराष्ट्रिय फरवार्ड राख्नमा दृढ देखिन्छ ।
लुकाकु चेल्सीका पूर्व खेलाडी हुन् । गत सिजन इन्टरले सिरि एको लिग जित्दा लुकाकु निर्णायक खेलाडी रहे ।
चेल्सी स्पेनिस डिफेन्डर मार्कोस एलान्सोलाई इन्टरसंगको सम्झौतामा राख्न तयार देखिएको थियो ।
चेल्सीले लुकाकुका लागि नयाँ प्रस्ताव राख्ने अपेक्षा गरिएको छ । तर इन्टर लण्डन क्लबको प्रस्तावलाई अस्विकार गर्न सक्षम रहेको बताउछ । लुकाकुले समेत इन्टरमा रहने इच्छा देखाएका छन् ।
लुकाकुले सन् २०११ देखि २०१४ सम्म तीन सिजन चेल्सीबाट १५ पटक खेले । त्यसपछि चेल्सीले एभर्टनलाई लोनमा दिएको थियो । उनी पुन चेल्सीसंग जोडिन खोजेका थिए । त्यही समय म्यान्चेष्टर युनाईटेडका प्रशिक्षक जोसे मौरिन्होले लुकाकुलाई ७५ मिलियन पाउण्डमा किनेका थिए ।
लुकाकुले ९६ खेलमा युनाईटेडका लागि ४२ गोल गरे । उनी सन् २०१९ मा कीर्तिमानी मुल्यमा इन्टर आएका थिए । उनले इन्टरसंग ५ वर्षका लागि ८० मिलियन युरोको सम्झौता गरेका थिए ।