एजेन्सी । ह्यारी केनलाई के भन्ने त ? अहिले इंग्लिस फुटबलमा बहसको विषय भएको छ । केही फुटबल पण्डित केनमाथि सहानुभूमि राख्छन् पनि । तर अधिकांस फुटबल समर्थक भने केनले जे गर्न खोजिरहेका छन्, त्यसको विरोधमै छन् ।
भएको के छ भन्दा अहिले केन आफ्नो क्लब टोटनहम छाडेर अन्यत्र जान खोजिरहेका छन्, भलै उनले अन्य कुनै क्लबसँग गर्न लागेको अनुबन्धबारे ठोस निर्णय भएको छैन् ।
यसैक्रममा उनी नयाँ सिजनका लागि टोटनहमले सुरु गरेको अभ्यास सत्रमा सहभागी समेत भइरहेका छैनन् । अभ्यासमा नजानुको त सिधा सिधा अर्थ क्लब छाड्दै छु भन्ने त हो ।
विशेषत: टोटनहमका समर्थक भने उनको कामलाई लिएर रिसाइरहेका छन् । उनीहरू इंग्लिस टिमका यी स्टार कप्तानलाई सक्दो गाली पनि गरिरहेका छन् ।

ती समर्थकमध्ये केही भन्छन्, केनलाई कारवाही गरेर जरिवाना समेत लगाउनु पर्छ । केही समर्थक भने उनलाई अब टोटनहमको मुख्य टिमबाट नखेलाएर रिजर्भ टिमबाट खेलाउनु पर्छ पनि भनिरहेका छन् ।
हल्लालाई नै आधार मान्ने हो भने केन अर्को इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जाँदैछन् । तर उनलाई किन्न पैसाको खोलो बनाउनु पर्ने हुनाले यो नहुन पनि सक्छ ।
सिटीले केनलाई किनेन भने के हुन्छ त ? मुख्य अन्यौलता त्यही हो । त्यस स्थितिमा उनलाई टोटनहममै नफर्केर सुख छैन् ।
आखिरमा टोटनहमसँग उनको अनुबन्ध बाँकी नै छ । टोटनहमका अहिलेका प्रशिक्षक नुनो सान्टोले पनि के दोहराएर भनिरहेका छन् भने केनलाई बेच्ने कुनै योजना छैन्, उनी टोटनहमकै खेलाडी हुन् ।
यस्तोमा तय छ, केनले ठूलै जोखिम उठाइरहेका छन् र आफूलाई असाध्यै माया गर्ने टोटनहम समर्थकलाई सक्दो बिच्काउने काम गरिरहेका छन् । केही फुटबल पण्डित केनलाई केनलाई समर्थन गर्नुको कारण हो, उनी टोटनहममै रहने हो भने केही उपाधि जित्न सक्ने छैनन्, उनी जत्तिको खेलाडीलाई यो ठीक हुन्न । तर अहिले केनले जे गरिहेका छन्, त्यो पनि ठीक पनि त छैन् ।

–मिररको सहयोगमा ।