काठमाडौं । सातदोबाटो युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगका लागि सोमबार ४ खेलाडी अनुबन्ध गरेको छ ।
नयाँ सिजनको लिगका लागि सातदोबाटोले नयाँ बस्ती क्लबका डिफेन्डर बसन्त ओझा र खुमलटार युवा क्लबका प्रशान्त अवस्थीलाई अनुबन्ध गरेको हो ।
यस्तै सातदोबाटोले क्लबका पूर्व गोलकिपर सनम राई र पूर्व डिफेन्डर महेन्द्र कार्कीलाई समेत नयाँ सिजनका लागि अनुबन्ध गरेको छ ।
खेलाडी अनुबन्धमा आक्रामक रुपमा अघि बढेको सातदोबाटोले आइतबार मात्र पाँच खेलाडी अनुबन्ध गरेको थियो ।

सातदोबाटोले आइतबार बी डिभिजन लिग च्याम्पियन बन्दा कप्तान रहेका बसन्त तामाङसहित अभिषेक बराल, आशिष राई, सुदिप गुरुङ र प्रकाश पुनलाई अनुबन्ध गरेको थियो ।
यसै वर्ष ए डिभिजनमा बढुवा भएको सातदोबाटोले यसअघि हिमालयन शेर्पा क्लबका कप्तान मानबहादुर तामाङ सहित मोफसलका युवा फरवार्ड बिक्रम सिंह ठकुरीलाई अनुबन्ध गरेको थियो ।
विदेशी खेलाडी पिटर सेगुनदेखि मार्टिन हुँदै राष्ट्रिय फुटबल टिमका युवा खेलाडी स्यान्सु भुषाललाई क्लबले अनुबन्ध गरिसकेको छ ।
ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।


