काठमाडौं । सातदोबाटो युथ क्लबले आसन्न सहिद स्मारक 'ए' डिभिजन लिगका लागि आइतबार ५ खेलाडी अनुबन्ध गरेको छ ।
नयाँ सिजनको लिगका लागि सातदोबाटोले कप्तान बसन्त तामाङसँगको सम्झौता नवीकरण गर्दै चार नयाँ खेलाडी अनुबन्ध गरेको हो ।
सातदोबाटो बी डिभिजन लिग च्याम्पियन बन्दा बसन्त टिमका कप्तान रहेका थिए ।
यस वर्षको शीर्ष डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।
जसका लागि पहिलो पटक शीर्ष लिग खेल्न लागेको सातदोबाटोले कप्तान बसन्तसँगको सम्झौता नवीकरण गर्दै अनुभवी चार खेलाडीलाई भित्र्याएको हो ।
सातदोबाटोले च्यासल युथ क्लबका अभिषेक बराल, श्री कुमारी क्लबका आशिष राई, टुसाल क्लबका मिडफिल्डर सुदिप गुरुङ र एपीएफ क्लबका मिडफिल्डर प्रकाश पुनलाई अनुबन्ध गरेको छ ।
असोज ३ गतेबाट सुरु हुने भनिएको ए डिभिजन लिग दुई महिना पछि सरेको छ । अब कात्तिक २९ गतेबाट नयाँ सिजनको लिग सुरु हुनेछ ।

यसै वर्ष ए डिभिजनमा बढुवा भएको सातदोबाटोले यसअघि हिमालयन शेर्पा क्लबका कप्तान मानबहादुर तामाङ सहित मोफसलका युवा फरवार्ड बिक्रम सिंह ठकुरीलाई अनुबन्ध गरेको थियो ।
विदेशी खेलाडी पिटर सेगुनदेखि मार्टिन हुँदै राष्ट्रिय फुटबल टिमका युवा खेलाडी स्यान्सु भुषाललाई क्लबले अनुबन्ध गरिसकेको छ ।
क्लबका महासचिव सुनिल विष्टले यस सिजन शीर्ष ६ मा पर्ने लक्ष्य सहित टिम निर्माण गरिरहेको बताएका छन् ।
सोही अनुसार सातदोबाटोले ए डिभिजन उक्लिएको पहिलो वर्षमै राम्रा खेलाडीलाई क्लबमा अनुबन्ध गर्न सफल भएको छ ।