काठमाडौं । उर्जन श्रेष्ठ ए डिभिजन क्लब थ्री स्टारको मुख्य प्रशिक्षक बन्ने भएका छन् ।
ललितपुरे क्लब थ्री स्टार श्रेष्ठलाई नयाँ सिजनको लिगका लागि उर्जनलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने तयारी गरेको छ ।
नयाँ सिजन क्लबको जिम्मेवारी दिने विषयमा प्रशिक्षक श्रेष्ठ र थ्री स्टारबीच सहमती बनेको छ । तर क्लबसंग श्रेष्ठको औपचारिक सम्झौता हुन बाँकी छ ।
प्रशिक्षक मेघराज केसीले क्लब फुटबलबाट बिदा दिने निर्णय गरेपछि थ्री स्टारले क्लबका पूर्व खेलाडी उर्जनलाई टिम हेर्न दिने सहमती गरेको छ ।
‘क्लब हेर्ने सहमती बनेको छ । सम्झौता गर्न बाँकी छ ।’ उर्जनले खेलपाटीसंग भने ।
थ्री स्टारले यसअघि उर्जनलाई मोफसलका प्रतियोगिता हेर्ने गरि प्रशिक्षकको जिम्मेवारी दिएको थियो । अब उनले ए डिभिजन लिगमै थ्री स्टारको नेतृत्व गर्ने भएका छन् ।

यसअघि मेघराजले थ्री स्टार क्लबको नेतृत्व गर्दै आएका थिए । उनले क्लब फुटबलबाट बिदा लिने निर्णय गर्दै फुटबल एकेडेमी सञ्चालनका लागि गृहकार्य गरिरहेका छन् ।
तर बैशाखमा भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा केसी चितवनी एफसीको मुख्य प्रशिक्षकमा देखिएका थिए ।
एएफसी ए लाइसेन्स प्राप्त उर्जनले यसअघि बिग्रेट ब्वाइजबाट ए डिभिजन लिगको नेतृत्व गरिसकेका छन् । उनले ब्रिगेड ब्वाइजलाई ललित स्मृति यू–१८ च्याम्पियनसिप समेत जिताएका थिए । उमेर समूहको टिमलाई च्याम्पियन बनाएपछि क्लबले सिनियर टिमसमेत उर्जनलाई हेर्ने जिम्मेवारी दिएको थियो ।
२०५४ सालमा थ्री स्टारबाट व्यवसायीक फुटबल करियर सुरु गरेका उर्जनले पहिलो सिजनमै च्याम्पियन बनेका थिए । उनले मनाङबाट समेत व्यवसायीक लिग खेले र २०५७ मा च्याम्पियन बने ।
खेल्ने क्रममा हात भाँचिएपछि उनले सक्रिय फुटबल करियरलाई विश्राम लगाएका थिए । र प्रशिक्षणमा केन्द्रित भएका थिए ।
यस वर्षको ए डिभिजन लिग असोज २ गतेबाट सुरु हुदैछ । आसन्न लिगका लागि क्लबहरुले खेलाडी अनुबन्धलाई तिव्रता दिएका थिए ।
शुक्रबारमात्र थ्री स्टारले राष्ट्रिय फुटबल टिमका युवा खेलाडी आयुष घरानलाई नयाँ सिजनका लागि अनुबन्ध गरेको छ ।