टुरिन । केही साताको अन्यौलता र केही महिनाको हल्लापछि क्रिस्टियानो रोनाल्डो अन्तत: युभेन्ट्समै रहने छन् । अबको सिजन पनि उनले इटालीका यही क्लबबाट खेल्ने निश्चित जस्तै भएको छ । अब त पोर्चुगाली खेलाडीले जुलाई २५ बाट सुरु हुने क्लबको प्रशिक्षणमा समेत सामेल हुने तय भइसकेको छ ।
तिनै अन्यौलता र हल्लालाई आधार मान्ने हो भने रोनाल्डो म्यानचेस्टर युनाइटेड अथवा पेरिस सेन्ट जर्मेन (पीएसजी) जान सक्थे । तर इटालीको सबैभन्दा प्रतिष्ठित खेल पत्रिका ला ग्याजेटले दाबीसहित समाचार छापेको छ, सन् २०२२ सम्मका लागि उनी युभेन्ट्समै रहने छन्, कतै जाने छैनन् ।
रोनाल्डो जत्तिको खेलाडीलाई कोही कसैले किन पो गुमाउन चाहन्छ र ? तर उनलाई लिएर मुख्य समस्या हो, तलब । उनको वार्षिक तलब मात्र कम्तीमा ६ करोड युरो छुने गर्छ । कारोना भाइरस संक्रमणको महामारीको बेला यो सबैका लागि ठूलै रकम हो, चाहे त्यो युभेन्ट्स जत्तिको क्लब नै किन नहोस ।

त्यसैले ला ग्याजेटले के सम्म पनि टिप्पणी गरेको छ भने युभेन्ट्सले यो आर्थिक पाटोलाई लिएर आँखा चिम्लिन मिल्दैन्, बरू निकै होसियार भएर यसलाई सामना गर्नु पर्छ । यहाँनिर एउटा अर्को सम्भावना पनि छ । जसरी लियोनल मेसी आधा तलबमा बार्सिलोनामै बस्न तयार भए, त्यसरी नै रोनाल्डोले पनि युभेन्ट्ससँग त्यस्तै अनुबन्ध गर्न सक्छ ।
यो सबै रोनाल्डोका सुपर एजेन्ट जोर्गी मेन्डिस र युभेन्ट्स अध्यक्ष आन्द्रे एगनेलीबीचको छलफलले तय गर्नेछ । जति बेला रोनाल्डो र युभेन्ट्सबीचको अनुबन्ध फेरि एकपल्ट सन् २०२३ मा सकिने छ, त्यति बेला के गर्नेछन् त ? ला ग्याजेटकै अनुमान हो, उनी खासै धेरै मिहिनेत गर्नु नपर्ने लिगतिर लाग्नेछन् ।
अहिले तत्काल भने रोनाल्डो मस्त बिदा मनाइरहेका छन् ।
–एजेन्सीको सहयोगमा ।