एजेन्सी । इंग्लिस क्लब टोटेनहमका नवनियुक्त मुख्य प्रशिक्षक नुनो सान्टोले स्ट्राइकर ह्यारी केन विश्वको एक उत्कृष्ट खेलाडी भएको बताएका छन् ।
मुख्य प्रशिक्षक नियुक्त भएपछि पहिलो पटक पत्रकार सम्मेलनमा उपस्थित भएका नुनोले केन विश्वको उत्कृष्ट खेलाडी रहेको बताएका हुन् ।
यस्तै प्रशिक्षक नुनोले केन टोटेनहमका खेलाडी भएको समेत बताए ।
'ह्यारी हाम्रो खेलाडी हो । अन्य कुरा गर्न आवश्यक पर्दैन । म उनलाई टिममा सामेल भएको देख्न चाहन्छु,' नुनोले भने, 'ह्यारी विश्वका एक उत्कृष्ट खेलाडी हुन् । मलाई चाहिने कुरा यही हो ।'
२७ वर्षीय केन हाल छुट्टिमा रहेका छन् । युरोकपपछि केन आराम गरिरहेका छन् ।
केनको कप्तानीमा इंग्ल्यान्ड युरोकपको फाइनल पुगेको थियो । तर, फाइनल खेलमा इंग्ल्यान्ड इटालीसँग पेनाल्टी सुट आउटमा पराजित भएको थियो ।
'अहिले उसको शक्ति आर्जन र आराम गर्ने समय हो । त्यसपछि हामी कुरा गर्छौं,' पोर्चुगिज प्रशिक्षक नुनोले भने ।
उल्भ्सका पूर्व प्रशिक्षक नुनोले टोटेनहमसँग दुई वर्षको सम्झौता गरेका छन् । नुनोलेसिजनको अन्त्यसँगै उल्भ्स छाडेका थिए ।