बार्सिलोना । बार्सिलोनाले छिट्टै लियोनल मेस्सीसँगको अनुबन्धलाई लिएर आधिकारिक रूपमा बोल्ने भएको छ । कम्तीमा अर्को साता क्लबले यस्तो हुँदैछ भनेर भन्ने छ । अहिले बार्सिलोनाका वकिल अनुबन्धको अन्तिम खाका तयार पार्दैछन् । अबको पाँच वर्ष मेस्सी बार्सिलोनामै रहने तय छ । उनको तलब भने घट्ने छ । अनि उनको ‘रिलिज क्लज’ हुनेछ, ३५ करोड युरोको ।
मेस्सी र बार्सिलोनाबीचको अनुबन्धलाई लिएर भएको छलफलमा त्यस्ता केही पेचिला तथ्य पनि थिए, जसका लागि बाक्लै तर्क वितर्क भए । केही यस्ता पक्ष पनि थिए, जसको छिनोफानो केही सेकेन्डमै भएको थियो । सबैभन्दा सजिलै मिलेको कुरा मेस्सीको तलबलाई लिएर हो, उनले अबदेखि यसअघि लिंदै आएको तबलको आधा मात्र थाप्नेछन् ।
खासमा मेस्सीको तलबबारे छलफल नै भएको थिएन्, बरू उल्टै मेस्सीले तुरुन्तै कम तबल थाप्न सहमती जनाए । उनलाई पनि थाहा थियो, अचेल बार्सिलोनाको आर्थिक स्थिति ठीक छैन् । फेरि उनले भन्दै पनि आएका छन्, पैसा नै सकथोक होइन् । मेस्सीको आधा तलब बचेपछि बार्सिलोनाले पनि यसलाई अन्यत्रै उपयोग गर्न सक्छ ।

गम्भीर विषय अनुबन्धको समयलाई लिएर भएको थियो । लामो छलफल पछि मेस्सी पाँच वर्षको अनुबन्ध गर्न तयार भए । सुरुमा १० वर्षको अनुबन्धबारे चर्चा भएको थियो । एउटा प्रस्ताव दुई वर्षका लागि पनि थियो । त्यसमा दुई दुई वर्ष थप्दै लाने गरेर । तर यी सबै खालि चर्चाकै विषय मात्र रहे । दुवै पक्षले यसमा खासै रूचि देखाएनन् ।
खालि प्रश्न के रहेको छ भने मेस्सी पाँचै वर्ष बार्सिलोनामै रहने छन् कि दुई सिजनपछि एमएलएसमा जानेछन् ? मेस्सीले एउटा तथ्यमा भने जिद्दी गरे र त्यो थियो, उनी अबदेखि कुनै पनि प्रकारको कर विवादमा फस्न चाहँदैनन् । उनी चाहन्छन्, जे जस्तो लिनेदिने हुन्छ, ती सबै कानुनी रूपमै हुनु पर्नेछ, तलमाथि हुने अवसर नै दिनु हुन्न ।

त्यसैले बार्सिलोनाले पनि वचन दिएको छ, कर दायित्वलाई लिएर क्लब सचेत छ, सावधानीपूर्वक काम हुनेछ । बार्सिलोनाले पनि अब आफ्ना प्रायोजकलाई लिएर पनि छलफल अगाडि बढाउन सक्नेछ, किनभने विश्व फुटबलकै सर्वकालीन महान खेलाडी फेरि एकपल्ट यही क्लबमा बस्ने तय भएको छ ।
द मार्काको सहयोगमा -