एजेन्सी । अष्ट्रिया समूह उपविजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १-० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे ।
खेलको २१ औं मिनेटमा क्रिस्टोफले निर्णायक गोल गरेका हुन् । उनले कप्तान डेभिड अल्बाको पासमा गोल गरेका हुन् ।

यस जितसँगै समूह 'सी' मा रहेका अष्ट्रियाले ३ खेलमा ६ अंक जोड्यो । र, समूहको उपविजेता बन्यो ।
अष्ट्रिया पहिलो पटक युरोकपको नकआउट चरणमा प्रवेश गरेको हो ।
अब अष्ट्रियाले अन्तिम १६ मा इटालीसँग खेल्नेछ ।
पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको अष्ट्रिया दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो ।

युक्रेन भने समूहको तेस्रो स्थानमा रह्यो । युक्रेनले ३ खेलमा ३ अंक जोडेको छ ।
युक्रेनको समूहको तेस्रो स्थानमा रहने उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना रहेको छ । जसको लागि सबै समूह चरणको खेल सकिनु पर्नेछ ।
पहिलो खेलमा युक्रेन नेदरल्यान्ड्ससँग ३-२ ले पराजित भएको थियो । दोस्रो खेलमा युक्रेनले नर्थ म्यासेडोनियालाई २-१ ले हराएको थियो ।
