एजेन्सी । बेल्जियम र रुसले युरो २०२० को पहिलो खेल आज (शनिबार) राति खेल्दै छन् ।
समूह बीमा रहेका दुबै टोली पहिलो प्रतिस्पर्धाका लागि तयारी अवस्थामा छन् । खेल नेपाली समय अनुसार राति क्रेस्टोभस्काई स्टेडियममा १२:४५ बजे सुरु हुनेछ ।
रोबर्टो मार्टिनेजको प्रशिक्षणमा रहेको बेल्जियम दृढ विश्वासका साथ आफुलाई विश्वको पहिलो स्थानमा रहेको कुरा प्रस्ट पार्न खोज्नेछ । त्यस्तै समूहको विजेताको रुपमा अगाडी बढ्न चाहन्छ । यता रुस समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणका लागि प्रवेश गर्नेमा अपेक्षा राख्दछ ।
सन् १९८० को युरोमा बेल्जियम पश्चिम जर्मनीको शिकार भएको थियो । जहाँ पहिलो पटक फाइनल पुग्दा उपविजेतामा सिमित भएको थियो । ४१ वर्ष पछि मार्टिनेजले विश्वको शीर्ष स्थानमा रहेको बेल्जियमलाई पहिलोपटक फाइनलमा पुर्र्याउने प्रयास गर्नेछन् ।
बेल्जियम छनोटको १० खेल खेल्दै सबै खेलमा जितका साथ यूरोमा प्रवेश गरेको थियो । बेल्जियमसँग प्रतिभाशाली खेलाडीहरु छन् ।
बेल्जियमले छनोट दौरान रुसलाई ३–१ र ४–१ ले पराजित गरेको थियो । जुन ५ मा रुसको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा बेल्जियमले १–० को जित निकालेको थियो ।

बेल्जियमका प्रभावशाली प्लेमेकर केभिन डी ब्रुयेनले रुससँगको खेल गुमाउने छन् । च्याम्पियन्स लिग फाइनलमा भोगेको चोटका कारण उनी पहिलो खेलका लागि सेन्ट पिटर्सबर्गको यात्रा गरेका छैनन् ।
त्यस्तै चोटबाट ग्रसित इडेन हाजार्डका लागि पनि यस खेलमा जोखिम नउठाउन सक्छन् । रुसविरुद्धको खेलमा जान भर्टोनहेन र थोर्गन हाजार्डले सुरुवात गर्न सक्ने छन् ।
रुसका मिडफिल्डर डिमिट्री बारिनोभले पनि चोटका कारण बेल्जियमविरुद्ध उपस्थित हुने छैनन् । रोमन जोब्निन र अनुभवी डिफेन्डर फेडोरले पनि बेल्जियमविरुद्धको खेलमा सहभागी हुने छैनन् । रोमनलाई कोरोना पोजटिभ देखिएको छ भने फेडोरको काल्फमा समस्या देखिएको छ ।
बेल्जियमको सम्भावित ११ :
कोर्टुवा, एल्डरवेइरेल्ड, डेनायर, भर्टोनहेन, कास्टाग्ने, टेलीम्यान्स, डेन्डोन्कर,कारास्को, मेर्टेन्स, हाजार्ड र लुकाकु
रूसको सम्भावित ११ :
शुनिन, बारिनोभ, डिझकिया, सेमेनोभ, फर्नान्डेस, जोबनिन, ओज्डोभ, कुज्याभ, मिरन्चुक, गोलोभिन र डिज्युबा