काठमाडौं । फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।
दोस्रो भेटमा नेपाल एसियाली फुटबलको पावर हाउस अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताईसकेका छन् ।
यस अघिको पहिलो भेटमा नेपाल अष्ट्रेलियासँग ५–० गोल अन्तरले पराजित भएको थियो । पहिलो भेटमा नेपालविरुद्ध अष्ट्रेलिया पूरा समय हाबी भएको थियो । उक्त खेलमा कुनै पनि समय नेपालले अष्ट्रेलियाविरुद्ध आक्रमण बुन्न सकेको थिएन ।
दोस्रो भेटमा भने अष्ट्रेलियाले नेपालविरुद्ध दोस्रो रोजाईको खेलाडीलाई अवसर दिने सम्भावना रहेको छ । यस अघि समेत अष्ट्रेलियाले नेपालविरुद्ध नयाँ खेलाडीलाई अवसर दिएको थियो ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।
अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै नेपालसँग खेल्न उत्साहित रहेको र खेलमा सुरुवाती–११ मा परिवर्तन हुने समेत बताईसकेका छन् ।
अष्ट्रेलिया र नेपालबीचको खेलमा रोहित चन्द र ह्यारी साउटर प्लेयर्स टु वाचमा रहने छन् ।
ह्यारी साउटर
अग्ला कदका युवा डिफेण्डर ह्यारी साउटरले एक वर्षअघि नेपालविरुद्धनै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । ७ फिट अग्ला २२ वर्षे ह्यारीले नेपालविरुद्ध २ गोल गरेका थिए । सेट पिसका लागि उपयोगी ह्यारीले नेपालविरुद्ध डेब्युमै आकर्षक दुई गोल गरे । त्यसयता उनले अन्य दुई खेल खेले । दुबै खेल चाईनिज ताईपेविरुद्ध । ३ खेल खेलका उनले ५ गोल गरिसकेका छन् । ताईपेसँगको पहिलो भेटमा १ गोल गरेका उनले दुई गोल हप्ता दिन अघिमात्रै कुवेतमै गरेका हुन् ।

इंग्लिस क्लब स्टोक सिटीबाट दोस्रो डिभिजनको च्याम्पियनसिप खेलिरहेका ह्यारी प्रशिक्षक ग्राहम आर्नोल्डको युवा योजनामा पर्न सक्छन् । उनले प्रि-म्याचमै युवा खेलाडीलाई नेपालविरुद्ध मौका दिने बताएका छन् ।
सेट पिसका लागि प्रभावशाली ठहरिने ह्यारी साउटर नेपालविरुद्ध एक खतरनाक खेलाडी रहन सक्छन् । अग्ला कदका साउटर छोटा कदका नेपाली खेलाडीविरुद्ध खुलेर खेल्न सक्ने क्षमता राख्दछन् । डिफेण्डर भएपनि सेट पिसमा उनलाई रोक्न नेपाली खेलाडीलाई चुनौती रहनेछ ।
रोहित चन्द
युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोलीको अनुभवी र सिनियर खेलाडीमा पर्छन् रोहित चन्द । कुवेतमा विश्वकप छनोटका दुई खेल इराकसँगको मैत्रिपूर्ण खेल र पछिल्लो समय घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि हात पार्दा डिफेन्सको भुमिकामा रहे रोहित । खासमा रोहित डिफेन्सिभ मिडफिल्डर हुन् । तर, उनी टोलीको आवश्यकता अनुसार दुबै भूमिकामा सहजै खेल्छन् ।

प्रशिक्षक अब्दुल्लाहले अष्ट्रेलियाविरुद्धको योजनामा रोहित मुख्य खेलाडी रहन्छन् । सेन्टर डिफेण्डर अष्ट्रेलियाविरुद्ध ब्यस्त रहनेछन् । अष्ट्रेलियाका अग्ला कदका खेलाडी र उनीहरुको ‘पावर गेम’ रोक्नु रोहितको मुख्य जिम्वेवारी रहन्छ ।
७ फिट अग्ला २९ वर्षीय रोहितलाई इन्डोनियाको घरेलु लिगको अनुभव रहेको छ । यस्तै उनलाई मलेसियासँगै आफ्नै घरेलु लिगको समेत अनुभव छ ।
अष्ट्रेलियाका ह्यारी साउटर लगायत अन्य खेलाडीको पावर गेमलाई रोक्नु रोहितलाई चुनौती हुनेछ ।