कुवेत सिटी । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले भोलि (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले बलियो टिम अष्ट्रेलियासँग खेल्नेछ । खेल राति ९:४५ बजे सुरु हुनेछ ।
नेपालसँगको खेल अघि अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिमको प्रशंसा गरेका छन् ।
नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताए ।
'उनीहरु फरक शैलीमा खेलिरहेका छन् र पछाडीबाट खेल्ने कोशिस गरिरहेका छन् । प्रशिक्षकले धेरै राम्रो काम गरिरहेका छन् र हामी नेपाललाई सम्मान गर्दछौं । नेपाल मेहनती टोली हो,' आर्नोल्डले भने ।

यस्तै प्रशिक्षक आर्नोल्डले नेपालविरुद्धको खेलमा सुरुवाती-११ मा परिवर्तन हुने समेत बताए ।
'हाम्रो ध्यान नेपालविरुद्ध राम्रो प्रदर्शन गर्ने छ । मैले रणनीतिमा केहि परिवर्तन गर्ने छु,' उनले थपे ।
नेपालले अष्ट्रेलियासँग यस अघि एक खेल खेलेको छ । जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले २०१९ को अक्टोबर १० मा अष्ट्रेलियासँग खेलेको थियो ।
अष्ट्रेलियाको घरेलु मैदानमा नेपालले फराकिलो हार व्यहोरेको थियो । क्यानबेरास्थित जीआईओ स्टेडियममा नेपाल घरेलु टिमसँग ५-० ले पराजित भएको थियो ।