कुवेत सिटी । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले भोलि (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।
कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ ।
तर, नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग उत्कृष्ट खेल खेल्ने बताउँछन्।
अष्ट्रेलियासँगको खेल अघि प्रशिक्षक अलमुताईरीले भने, 'आशा छ हामी अष्ट्रेलियाविरुद्ध अर्को राम्रो खेल खेल्नेछौं। हाम्रो खेल्ने शैली सुधार भएको छ र हामीले हाम्रा समर्थकहरुलाई खुशी पार्न सकेका छौं ।'
प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीले मौका पाउने समेत बताए ।
'सबै ठीकठाक छ भने उनीहरूले खेल्ने छन् । म बुझ्छु, अष्ट्रेलियाविरुद्ध खेल्नु गार्हो छ तर उनीहरूले खेल्नु महत्वपूर्ण छ,' उनले भने ।
नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ ।
समूह 'बी' मा अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया अपराजित रहने समूहको एक्लो टिम हो ।
नेपाल भने चौंथो स्थानमा रहेको छ । नेपालले ६ अंक जोडेको छ ।