एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा इटालीले फराकिलो जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा इटालीले चेक रिपब्लिकमाथि ४-० गोलको फराकिलो जित निकालेको हो ।
इटालीको जितमा सिरो इम्मोबाइल, निकोलो बरेला,लोरेन्जो इन्सिग्ने र डोमेनिको बेरार्डीले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा इम्मोबाइलले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
४२ औं मिनेटमा निकोलोको गोलबाट इटालीले अग्रता २-० को बनायो ।

खेलको ६६ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीको अग्रता तेब्बर बनाए ।
त्यसपछि खेलको ७३ औं मिनेटमा बेरार्डीले गोल गर्दा इटालीले ४-० गोलको फराकिलो जित निकालेको हो ।
यससँगै इटालीले चेक रिपब्लिकविरुद्ध कुनैपनि गोल नखाई लगातार आठौं जित निकालेको छ ।
युरोकप छनोटको तयारीका लागि इटाली र चेक रिपब्लिकले मैत्रीपूर्ण खेल खेलेको हो ।
युरोकपमा इटाली समूह 'ए' र चेक रिपब्लिक समूह 'डी' मा रहेको छ ।
