एजेन्सी । इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
चेल्सीलाई च्याम्पियन्स लिगको उपाधि दिलाएपछि टुचेलले क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।
चेल्सीले शुक्रबार टुचेलले सम्झौता नवीकरण गरेको जनाएको छ ।
'चेल्सी परिवारको अंश बन्न पाउँदा खुसी छु । हामी धेरै महत्वाकांक्षाको साथ अर्को चरणको प्रतीक्षामा छौँ,' सम्झौतापछि टुचेलले भनेका छन् ।
सम्झौतासँगै जर्मन प्रशिक्षक टुचेल सन् २०२४ सम्म चेल्सीमा रहने छन् ।
चेल्सीले गत जनवरीमा फ्रान्क लाम्पार्डलाई बर्खास्त गर्दै टुचेललाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।
चेल्सीले टुचेललाई १८ महिनाको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

टुचेलले क्लब आएकै सिजन चेल्सीलाई च्याम्पियन्स लिग जिताएका हुन् ।
गत साता फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १-० गोल अन्तरले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो ।
जर्मन प्रशिक्षक टुचेलको यो पहिलो च्याम्पियन्स लिग उपाधि समेत हो ।
टुचेल दुई फरक क्लबबाट लगातार दुई सिजन च्याम्पियन्स लिगको फाइनल पुग्ने पहिलो प्रशिक्षक समेत हुन् ।
गत सिजन जर्मन प्रशिक्षक टुचेलले फ्रेन्च क्लब पीएसजीलाई च्याम्पियन्स लिगको फाइनलमा पुर्राएका थिए । तर, गत सिजन पीएसजी फाइनलमा बायर्न म्युनिखसँग पराजित भएको थियो ।
