एजेन्सी । रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले रेफ्रीको कारण ला लिगामा सेभियासँग बराबरीमा रोकिनु परेको बताएका छन् ।
आइतबार राति रियलले सेभियासँग २-२ गोलको बराबरी खेलेको थियो । बराबरीसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लन असफल भएको थियो ।
खेलपछि जिदानले रेफ्रीको निर्णयबाट आफु निकै रिसाएको बताए । उनले सेभियालाई ह्यान्डबल दिदा आफ्नो टिमलाई ह्यान्डबल नदिएको उनले बताए ।
'मलाई रेफ्रीबारे केहि थाहा छैन । यदि मिलिटाओको ह्यान्डबल छ भने सेभियाको पनि ह्यान्डबल हो,' उनले भने, 'म रेफ्रीको बारेमा कहिले बोल्दिन तर आज म रिसाएको छु ।'
खेलको ७८ औं मिनेटमा कर्नरबाट आएको बलमा हेड गर्ने क्रममा बलले इल्डर मिलिटाओको हातमा लागेको थियो ।
भीएआरपछि रेफ्रीले सेभियालाई पेनाल्टी दिएको थियो । त्यस पेनाल्टीमा इभान राकिटिचले गोल गरेका थिए ।
फ्रान्सेली प्रशिक्षक जिदानले आफु फुटबलमा विश्वास गर्ने तर रेफ्रीले सेभियालाई मात्र अवसर दिएको बताए ।
'म फुटबलमा विश्वास गर्छ । मैले दुई वटा ह्यान्डबल देखेको थिएँ तर उनीहरूले मात्र हाम्रोलाई दिए,' उनले थपे ।