काठमाडौं । फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)को १३ औं खेलमा एफसी चितवन र विराटनगर सिटी एफसी प्रतिस्पर्धामा थिए । खेलको ६३ औं मिनेट चलिरहेको थियो । दुवै टोली गोल रहित थिए ।
मैदानको मध्य भागबाट चितवनका मिडफिल्डर मनिस थापाले हेडमार्फत एयर बल पास गरे । चितवनका मिडफिल्डर शिशिर लेखी र विराटनगरका डिफेन्डर सरोज दाहाल हेडिङ गर्न पुगे । सो क्रममा दुबै जना जुध्न पुगे । सरोजको दाँतले शिशिरको टाउकोमा लाग्न पुग्यो ।
शिशिरको रगत बग्ने क्रम सुरु भयो । मैदानमा मेडिकल टिम बोकेर फिजिओ पुगे । फिजिओले प्राथमिक उपचार गर्दै प्रशिक्षक शैलेस कर्माचार्यलाई खेलाडी परिवर्तन गर्न इसारा गरिरहेका थिए । तर प्रशिक्षक कर्माचार्यले केही समय रोक्न इसारा गरे ।
प्रशिक्षक कर्माचार्यले शिशिरलाई परिवर्तन गर्न चाहेनन् । शिशिर पुन मैदान छिरे । टाउकोमा पट्टी बाँधेरै मैदान छिरेका उनी असहज महशुस गरिरहेका थिए ।
उनी हेडिङ गर्न डराइरहेका थिए । पास पनि गुमाइरहेका थिए । टाउकोमा लगाएको पट्टीले उनलाई असहज महशुस भएको प्रस्ट देखाउँथ्यो ।
‘सुरुमा पट्टी बाँधेर खेल्दा आँखा छेकिएको थियो । खेल्दा केही असहज जस्तो भइरहेको थियो । मैले पट्टी फालेको थिए ।’ उनले भने, ‘पहिलो पटक यस्तो चोट लागेको थियो । त्यो पनि टाउकोमा थियो । हेडिङ गर्न सुरुमा डर लागिरहेको थियो । तर खेल्न सक्छु भनेर आफ्नै निर्णयमा खेलेको हुँ ।’
सुरुवातमा बाँधेको पट्टी असहज भएकै कारण उनले झिकेर फाले । हेडिङ गर्ने क्रममा उनको टाउकोबाट फेरी रगत बग्न थाल्यो । उनी पुन मैदान बाहिर आएर पट्टी बाँधे र मैदान छिरे ।
प्रशिक्षकले उनको स्थानमा अर्को खेलाडी मैदान पठाउने आँट गरेनन् । उनले १० मिनेटको इन्जुरी समयसहित मैदानमा पुरै समय बिताए । खेल विराटनगरले २–० ले जित्यो । उनी मैदानबाटै सोझै अस्पताल पुगे । उनको टाउकोमा दुई टाँका लाग्ने भयो ।

पहिलो पाठशाला घर
उनले कक्षा चारमा पढ्दा देखिनै फुटबल खेल्न सुरु गरेका थिए । बुबा र काका फुटबल खेलाडी भएकै कारण उनले सानैदेखि फुटबलको सामान्य ज्ञान घरबाटै सिके । उनका बुबा नाम चलेका खेलाडी थिएनन् । तर स्थानीय स्तरका हरेक प्रतियोगिता खेल्ने गर्थे । सायद बुबाको फुटबलप्रतिको लगाव शिशिरमा पनि सर्यो ।
‘बुबा र काका स्थानीय फुटबल खेलाडी थिए । बुबालाई फुटबल खेलेको देख्थे । सायद त्यसैले मैले पनि फुटबलमा रुचि राखे ।’ उनले विगत सुनाए, ‘परिवारनै फुटबलमा भएकाले मैले पनि फुटबलमा जोड दिए । त्यही गुण सरेको जस्तो पनि लाग्छ ।’
भनिन्छन्, हरेक बुवा आफ्ना अधुरा सपना छोराले पुरा गरोस भन्ने चाहन्छन् । शिशिरका बुवा आफ्ना अधुरा सपना छोरामा देख्न थाले । उनी सपना थियो, एक दिन छोराले राष्ट्रिय टिमको जर्सी लगाओस ।
शिशिरले कक्षा आठको बोर्ड परिक्षा सकिएका थिए । एन्फा एकेडेमीका लागि खेलाडी छनोट चलिरहेको थियो ।
शिशिरकी आमा भने फुटबल खासै मन नपराउने । छोरो फुटबलर नबनोस भन्ने उनको चाहना थियो । उनी बुवाकै उदाहरण दिन्थिन् । उनले पटक पटक शिशिरलाई फुटबल नखेल्न आग्रह गरेकी थिईन् । तर शिशिर यू–१४ का लागि एन्फा एकेडेमीमा छनोट भए । त्यसपछि आमाको समेत सहयोग प्राप्त हुन थाल्यो ।
‘बुबाले फुटबल बुझ्नुभएको थियो । तर आमा मन पराउनु हुदैनथ्यो । बुबा फुटबलर भएर पनि ठुलो उपलब्धि हासिल गर्न सक्नु भएको थिएन । आमाले त्यसरीनै बुझ्नु भएको थियो । फुटबलमा लागेको बुबालाई देख्नु भएको थियो । त्यसैले पनि होला, मलाई पनि फुटबलमा नलागेर पढाइमा ध्यान दिन भन्नु हुन्थ्यो ।’ शिशिरले खेलपाटीसंग भने, ‘आफ्नै घरमा सम्बन्धित क्षेत्रमा कसैले उपलब्धि हासिल गर्न नसकेपछि अर्कोलाई पनि नगर भन्नु स्वभाविक हो ।’
उनले भने, ‘तर यू–१४ का लागि एन्फा एकेडेमीमा छनोट भएपछि आमाको पनि सोच बदलियो ।’
इटहरीमा भएको छनोटमा बुबाले शिशिरलाई पनि सहभागी गराउने निर्णय गरे । बोर्ड परिक्षा सकेर शिशिर विश्राममा थिए । उनलाई छनोटबारे जानकारी भने थिएन । बुवा भने छनोटको अवसर गुमाउनु हुन्न भन्नेमा थिए ।
‘कक्षा आठको बोर्ड परिक्षा सकिए लगत्तै एन्फा एकेडेमीका लागि इटहरीमा खेलाडी छनोट चलिरहेको रहेछ । मलाई जानकारी थिएन ।’ उनले भने, ‘बुबाले छनोटका लागि लैजानु भयो । म छनोट भए । काठमाडौं आए । काठमाडौंमा भएको छनोटमा पनि सफल भएपछि एन्फा एकेडेमीमा बस्न सुरु गरे । फुटबलमा घर पछि एन्फा एकेडेमी मेरो दोस्रो पाठशाला थियो ।’

युथ करियर
शिशिरले यू–१४ देखि यू–१६ सम्म एन्फा एकेडेमीमा बिताए । उनले आफ्नो उमेर समूहका प्राय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका छन् । उनी यू–१५ देखि यू–२१ सम्म नेपालको जर्सी लगाउँदै अन्तराष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
उनले श्रीलंकामा पहिलो पटक नेपाली टोलीबाट यू–१४ खेलेका थिए । तर त्यो आधिकारिक प्रतियोगिता थिएन । सन् २०१७ मा नेपालमा आयोजना भएको साफ यू–१५ च्याम्पियनसिप उनको करियरको पहिलो आधिकारिक उमेर समूहको प्रतियोगिता हो ।
‘एन्फा एकेडेमीमा छिरेपछि मैले यू–१४ खेल्ने श्रीलंका गएको थिए । त्यो आधिकारिक खेल थिएन ।’ उनले भने, ‘मेरो पहिलो आधिकारिक प्रतियोगिता भनेको नेपालमा भएको साफ यू–१५ हो ।’
सो प्रतियोगितामा नेपाल उपविजेता बन्दा उनी टोलीका मुख्य खेलाडी थिए । प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
उनले सन् २०१९ मा नेपालमा आयोजना भएको यू–१८ साफ च्याम्पियनसिपमा खेले । सो प्रतियोगितामा नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।
‘प्रायः उमेर समूहका खेल खेल्दै आएको छु । नेपालमा आयोजना भएको यू–१५ र यू–१८ खेले । गुवाहाटीमा भएको यू–२१ एसियन स्कुल च्याम्पियनसिप खेलेका छु । अब पालो यू–२३ को रहेको छ ।’ उनले भने ।
उनले दुई सिजन यू–१८ ललित स्मृती च्याम्पियनसिप समेत खेले । पहिलो सिजन जावलाखेल युथ क्लबबाट खेलेका उनले दोस्रो सिजन ब्रिगेड ब्वाइज क्लबबाट खेलेका थिए । उनी सम्मिलित टोलीले सन् २०१९ मा यू–१८ ललित स्मृती च्याम्पियनसिपको उपाधि जितेको थियो ।
ए डिभिजन यात्रा
एन्फा एकेडेमीबाट निस्किएपछि उनले ब्रिगेड ब्वाइज क्लबबाट ए डिभिजन लिगको यात्रा सुरु गरे । २०७५ सालमा भएको रेलिगेशन विनाको लिगमा उनी ब्रिगेड ब्वाइजको टोलीमा थिए । ब्रिगेड ब्वाइजले तालिकाको १२ औं स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । ए डिभिजन यात्राको पहिलो सिजन धेरै जसो खेलमा उनी बेन्चै सिमित रहे । तर उनले जति खेलमा अवसर पाए, आफुलाई प्रमाणित गरे ।
‘मैले पहिलो वर्ष धेरै अवसर पाएन । जति पाए राम्रो खेले । त्यसैले पनि होला । म ब्रिगेड ब्वाइज क्लबमा दोस्रो वर्ष पनि निरन्तर रहे ।’ उनले भने, ‘दोस्रो वर्ष पहिलो वर्षभन्दा धेरै खेल खेल्ने अवसर पाए । सिनियर दाईसँग खेल्ने अवसर पाउँदा आफ्नो क्षमता वृद्धि गर्ने अवसर पनि पाए ।’
दोस्रो सिजन ब्रिगेड ब्वाइजले खासै प्रदर्शन गर्न सकेको थिएन । लिगमा १३ खेल खेलेको ब्रिगेड ब्वाइजले दुई खेलमा जित निकाल्दा ३ खेल बराबरी र ८ खेलमा हार व्यहोर्दै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको थियो ।
कोरोना महामारीका कारण एन्फाले गत वर्ष लिग आयोजना गर्न सकेन ।
लिग नहुने भएपछि उनी मोफसलका प्रतियोगिता खेल्न ललितपुरे क्लब थ्री स्टारमा पुगे । उनले यस सिजन थ्री स्टारबाट पोखरामा आयोजना भएको आहा रारा गोल्डकप र इलामको माइभ्याली गोल्ड कप लगायतका प्रतियोगिता खेले । उमेर समूहमा यू–१८ ललित स्मृती च्याम्पियनसिपको उपाधि जिते पनि थ्री स्टारबाट जितेको गोल्डकपको उपाधि उनलाई ठुलो लाग्छ । उनी सम्मिलित थ्री स्टारले चौंथो संस्करणको बागमती गोल्डकपको उपाधि जितेको थियो ।
‘थ्री स्टारबाट गोल्ड कप जित्दाको क्षण मेरा लागि सबैभन्दा उत्कृष्ट क्षण हो । फाइनलमा अफ्रिकन रुट एसोसियसनसँग २–० ले पछि परेको अवस्थामा ३–२ ले जितेका थियौं ।’ उनले भने, ‘फाइनल अघि दुई खेलमा मैले केही असिस्ट गरेको थिए ।’

एनएसएलले दिएको खुसी
एनएसएलको अक्सनको दिन शिशिर एन्फा प्रिसिडेन्ट कप खेल्नका लागि नेपालगन्जमा थिए । उनी एन्फा प्रिसिडेन्ट कपमा धादिङको टिममा थिए । अक्सनको दिन टिमको खेल नभएकाले उनी कोठामै थिए । उनी अक्सनको प्रत्यक्ष प्रशारण टेलिभिजनमा हेरिरहेका थिए । त्यही बेला उनको नाम सार्वजनिक भयो । उनलाई एफसी चितवनले आफ्नो टोलीमा अनुबन्ध गर्यो । घरेलु लिगका ठुला नाम अक्सनमा अनसोल्ड हुँदा उनी भने चितवनमा अनुबन्ध भए ।
‘एन्फा प्रिसिडेन्ट कप खेल्न नेपालगन्ज पुगेको थिए । त्यो दिन हाम्रो खेल थिएन । टेलिभिजनमा अक्सन हेरिरहेको थिए ।’ उनले सुनाए, ‘घरेलु लिगका चर्चित नाम मेरो नाम आउनु अघिनै अनसोल्ड भएका थिए । मलाई पनि कसैले लिदैनन् कि भन्ने डर थियो । तर, चितवनले किन्दा निकै खुसी भए ।’
उनले नेपालको जर्सी लगायर सिनियर टोलीबाट खेल्ने सपना रहेको बताए । उनी आफ्नो सपना पुरा गर्न अझै मिहिनेत गर्न पछि नहट्ने बताउँछन् ।
‘हरेक खेलाडीको सपना नेपालका लागि खेलौं भन्ने हुन्छ । मेरो पनि छ ।’ उनले भने, ‘उमेर समूहका सबै प्रतियोगिता खेल्दै आएको छु । आशा छ, सिनियर टोलीबाट पनि खेल्ने छु । त्यसका लागि अझै मिहिनेत गर्ने छु ।’