काठमाडौं । धादिङ जिल्ला फुटबल संघको आयोजनामा हुने जिल्ला लिग फुटबल स्थगित भएको छ ।
कोरोना भाईरसको महामारीको दोस्रो लहर सुरु भएपछि जिल्ला लिग स्थगित गरीएको हो ।
संघले आइतबार एक सूचना निकाल्दै बैशाख २२ गतेबाट सुरु हुने भनिएको लिग कोरोना महामारिको दोस्रो लहरसँगै लागेको निषेधाज्ञाका कारण अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।
‘विश्वब्यापी रुपमा फैलिएको नयाँ भेरियन्ट सहित कोभिड १९ का कारण स्वास्थ्य समस्यालाई मध्यनगर राख्दै नेपाल सरकारको निर्णय र स्थानीय प्रशासनको १९ गतेको सूचना अनुसार धादिङ जिल्ला फुटबल संघको आयोजनामा हुने लिग स्थगित भएको जानकारी गराईन्छ ।’ जिल्ला महासचिव रामहरि थापाले हस्ताक्षर गरिएको सूचनामा भनिएको छ ।
धादिङले वर्षेनी जिल्ला लिग गर्दै आएको छ । जसका लागि केन्द्रले आर्थिक सहयोग समेत गर्ने गरेको छ ।
यस अघि संघले ११ क्लब सहभागी लिग गलौँदी खेल मैदानमा बिना दर्शक गराउने जानकारी गराएको थियो ।
पछिल्लो समय धादिङमा समेत निषेधाज्ञा भएपछि संघ लिग गर्नबाट पछि हटेको हो ।
धादिङ जिल्लामा धुनवेशी युवा क्लब धार्के, महादेवेशी युवा क्लब महादेबी, पञ्चकन्या युवा क्लब सिम्ले, इन्द्रणी युवा क्लब आदमघाट, अरुणदय युवा क्लब आदमघाट, गलौदी युवा क्लब गलौदी, गजुरी सामुदायीक विकास समाज गजुरी, भद्रकाली सामुदायीक विकास समाज मलेखु, भन्द्रकाली स्पोर्टस् क्लब मलेखु, धादिङ समाज, विद्याथी उपकार संघ र ब्वाइज युनाईट क्लब रहेका छन् ।
धादिङ समाज साविकको च्याम्पियन समेत हो । यस क्लबले प्रदेश ३ बाट विजेता हुँदै नेपालगंजमा भएको एन्फा प्रेसिडेण्ट कप खेलेको थियो ।
