काठमाडौं । बुटवल लुम्बिनी एफसीले पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो ।
जितपछि बुटवलका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले दोस्रो हाफमा राम्रो खेल हुँदा जित निकाल्न सफल भएको बताए ।
'पहिलो हाफमा टिम सेट भएको थिएन । १५ मिनेट जति हामी दबाबमा थियौं । मैदानमा पनि हाम्रो खेलाडी युज टु हुन सकेका थिएनन् । तर, पछि राम्रो भयो,' उनले भने, 'दोस्रो हाफमा सुमन लामा मैदान प्रवेश गरेपछी खेल परिवर्तन भयो । हामीले बल पोजिसन राख्न सक्यौं ।'
पोखराका सहायक प्रशिक्षक राजेश शाहीले गोल निकाल्न नक्सदा पराजित भएको बताए ।
'खेल राम्रो खेल्यौं । राम्रो खेलेर मात्र भएन । गोल निकाल्न सकेनौ । आजको कमजोरी अर्को खेलमा सुधार्ने छौ,' उनले भने ।
यस्तै उनले यो हारले उपाधि यात्रामा असर गरेको समेत बताए ।
'आजको हारले उपाधि यात्रामा असर गरेको छ । अर्को खेलमा राम्रो गर्ने छौँ । हाम्रो टिममा कहि न कहि कमजोरी छ । त्यो सुधार्ने छौँ,' उनले भने, 'अजितले आफ्नो बडीलाई नियन्त्रणमा राख्न सकेन्न । उनले आफ्नो बडी नियन्त्रणमा राखेको भए दोश्रो गोल खाने थिएनौ । तर, उनी राम्रा खेलाडी हुन । मैले खेलाडीमाथी दोष लगाउन खोजेको हैन ।'