काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एकेडेमी सन्चालनको लागि खेलाडी छनोट सुरुवात गरेको छ ।
एन्फाले मंगलबार आफ्नो मुख्यालयमा एकेडेमी संचालनको लागि यू-१३ को पुरुष खेलाडी छनोट गरेको हो ।
देशभरबाट आएका १ सय ६६ खेलाडीबाट एन्फाले खेलाडी छनौट गरिरहेको हो । सहभागी खेलाडीबाट अन्तिममा ४२ खेलाडी छनोट गर्ने एन्फाले जनाएको छ ।
'देशभरबाट आएका खेलाडीबिच प्रतिस्पर्धा गराई रहेका छौँ । दोस्रो चरणमा रहेका छौँ,' एन्फा केन्द्रिय उपाध्यक्ष तथा ग्रासरुट फुटबल हेड उपेन्द्रमान सिंहले खेलपाटीलाई जानकारी गराए ।
एन्फाले यस अघि सातै प्रदेश र जिल्लाबाट खेलाडी छनोट गराएको थियो । पहिला जिल्ला छनोट गरेको एन्फाले दोस्रो चरणमा प्रदेश हुँदै केन्द्रमा छनोट गरेको हो ।

केन्द्रमा छनोट भएका खेलाडीलाई एन्फाले तीन बिभागिय टोलीको एकेडेमीमा स्थान दिनेछ ।
एन्फाले एसियायी खेलकुद महासंघको मापदण्ड अनुसार तीनै बिभाग (पुलिस, एपीएफ, आर्मी) एकेडेमी संचालन गर्ने सम्झौता गरेको थियो ।
जसमा एकेडेमीले ७ खेलाडीलाई पूर्वन छात्रवृत्ति, ७ जनालाई आधा र ७ जना बिभागकै युवा खेलाडीलाई एकेडेमीमा राख्ने सम्झौता गरेको थियो ।
हाल छनोटमा प्रदेश १ बाट २८, प्रदेश दुईबाट २४ बागमती प्रदेशबाट ३३, गण्डकी प्रदेशबाट ३१, लुम्बिनी प्रदेशबाट ३०, कर्णाली प्रदेशबाट ८ र सुदूरपश्चिमबाट १२ खेलाडी रहेका छन् ।