काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) सँग निभिया जोडिएको छ ।
प्रतियोगिताको आधिकारिक बल पार्टनरको रुपमा निभिया एनएसएलसँग जोडिएको हो ।
एनएसएलका अध्यक्ष आश्रेता कार्की चौधरी र निभियाको नेपाल प्रतिनिधि किशोरबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतास्नागे प्रतियोगितामा निभियाको अष्टांग बल प्रयोग हुनेछ ।
सम्झौता कार्यक्रममा बोल्दै एनएसएलका सिईओ सुदिप शर्माले प्रतियोगितामा जोडिएसँगै निभिया नेपाल फर्किएको बताए ।
'निभियाले भारत र दक्षिण एसियामा फुटबल सहयोग गर्दै आएको छ । हामी आबद्ध हुन पाएकोमा आभारी छौँ । केही समयपछि निभिया नेपालमा फर्किएको छ,' उनले भने ।
निभियाका प्रतिनिधि किशोरले अफिसियल बल पार्टनर बनाएको एनएसएललाई धन्यवाद दिए ।
'हामी केहि समय नेपालमा रह्यौ । अहिले भारत, श्रीलंका र भुटानमा रहेका छौं । अब सुपर लिगमा पनि रहन्छौ । अफिसियल बल पार्टनर गराएकोमा धन्यवाद,' उनले भने ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिगको उद्घाटन खेलमा काठमाडौं रेजर्स फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल बैशाख ११ गते हुनेछ । काठमाडौं र ललितपुरबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
दोस्रो दिनबाट भने हरेक दिन दुई खेल हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । जेठ १ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।