एजेन्सी । कोपा डेल रे फुटबलको फाईनल आज (शनिबार) राति हुँदैछ । उपाधिका लागि एथ्लेटिक क्लब र बार्सिलोना भिड्दैछन् । खेल नेपाली समय अनुसार राति सवाँ १ बजे सुरु हुनेछ ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानलाई आफ्नो नेतृत्वमा पहिलो उपाधि जित्ने अवसर समेत रहेको छ । फाईनल खेल अघि कोम्यानले आफुसंग बल नहुँदा टिमले थप मेहनत गर्नुपर्ने धारणा राखेका थिए ।
बार्सिलोना डिफेन्डर जेरार्ड पिकेको आगमनबाट उत्साहित देखिन्छ । चोटका कारण बार्सिलोनासंग गोलकिपर नेटो र अंशु फाती हुने छैनन् । दुवै चोटका कारण मैदान बाहिर छन् । यस्तै, फरवार्ड फिलिप कौटिन्हो समेत चोटकै कारण ब्राजिलमा उपचार गरिरहेका छन् । उनी समेत बार्सिलोनाको टिममा छैनन् ।
बार्सिलोना कोपा डेल रेको सर्वाधिक सफल क्लब हो । उसले ३० पटक प्रतियोगिताको उपाधि जितेको छ ।