एजेन्सी । भारतीय महिला फुटबल टोलीकी गोलरक्षक अदिती चौहान आइसल्याण्डको तेस्रो डिभिजन क्लबमा अनुबन्धित भएकी छिन् ।
भारतीय फुटबल महासंघ (एआईएफएफ) ले २८ वर्षिया चौहानले आइसल्याण्डको तेस्रो डिभिजन क्लब हामार हाभेरगेर्डीसँग सम्झौता गरेको जनाएको छ ।
यस अघि चौहानले अर्धव्यसायिक खेलाडीको रुपमा वेष्ट हाम युनाईटेडको महिला टोलीसँग सम्झौता गरेको थिइन् । अब भने उनले व्यवसायिक रुपमा हाभेरगेर्डीबाट खेल्ने छिन् ।
चौहान भारतीय राष्ट्रिय फुटबल टोलीकी नियमित सदस्य हुन् । उनले भर्खरैमात्रै भारतले खेलेको अन्तराष्ट्रिय मैत्रिपूर्ण फुटबलमा उज्वेकिस्तान र बेलारुससँग खेलेकी थिईन् ।
चौहानले यसै सिजन गोकुलम केरेलाबाट घरेलु लिग खेलेकी थिईन् । नेपाल राष्ट्रिय फुटबल टोलीकी सर्वाधिक गोलकर्ता समेत रहेकी सावित्रा भण्डारी र चौहान सम्मिलित गोकुलमले लिगको उपाधि हात पारेको थियो ।
पोखरामा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र विराटनगरमा आयोजना भएको ५ औं संस्करणको साफ च्याम्पियनसिपमा भारतले उपाधि हात पार्दा चौहान मुख्य खेलाडी थिईन् ।
आइसल्याण्डको क्लबसँग जोडिएसँगै चौहान व्यवसायिक रुपमा विदेशी लिग खेल्ने दोस्रो खेलाडी बनेकी छिन् । भारतकी बाला देबीले स्कटल्याण्डको घरेलु लिग खेल्दै आईरहेकी छिन् ।