एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा ग्रानडालाई २-० ले पराजित गर्दै समग्रमा ४-० गोल अन्तरको जित निकाल्दै युनाईटेडले अन्तिम चारको यात्रा तय गरेको हो ।
युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई पहिलो लेगमा २-० ले नै हराएको थियो ।
ओल्ड ट्राफोर्डमा भएको दोस्रो लेगमा एडिन्सन काभानीको गोलबाट युनाईटेडले अग्रता बनाएको थियो ।
पाउल पोग्बाको पासमा काभानीले खेलको छैटौं मिनेटमा गोल गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा जेसस भालेजुले आत्मघाती गोल गरेपछि युनाईटेड २-० ले विजयी भयो ।
अब युनाईटेडले सेमिफाइनलमा इटालियन क्लब रोमासँग खेल्नेछ ।
रोमाले आयाक्समाथि समग्रमा ३-२ गोल अन्तरको जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
रोमाले बिहीबार भएको दोस्रो लेगमा भने आयाक्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।