काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टिम ललितपुर सिटी एफसीले अजरबैजानका खेलाडी नुर्लान जाहिद नोभ्रुजोभलाई अनुबन्धित गरेको छ ।
ललितपुरले एनएसएल लिगका लागि अजरबैजानका २८ वर्षीय स्ट्राइकरलाई अनुबन्ध गरेको हो ।
नुर्लान एनएसएलका लागि बिहीबार काठमाडौं आईपुगेका छन् । उनलाई क्लबका पदाधिकारीले स्वागत गरेका थिए ।
नुर्लान अजरबैजान लिगका सर्वाधिक गोल कर्ता हुन् । उनी सन् २०१४/१५ को सिजन अजरबैजानको लिगमा सर्वाधिक गोलकर्ता चयन भएका थिए ।
उनले अजरबैजानको यू-२१ टिमबाट समेत खेलेका थिए ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने एनएसएल बैशाख ११ गतेबाट सुरु हुँदैछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । बैशाख २५ सम्म सञ्चालन हुने लिगमा कुल २५ खेल हुनेछ ।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ ।
लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।