सुर्यगढी र ककनी शिवपुरी क्वाटरफाइनलमा
नुवाकोट । बेलकोटगढी नगरपालिका, पञ्चकन्या गाउँपालिका, सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिका नुवाकोटको शिवपुरी गाउँपालिकामा भइरहेको शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
बेलकोटगढीले नगरपालिकाले म्यागङ गाउँपालिकालाई ३–० को अन्तरले पराजित गरेपछि समूह बी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
बेलकोटगढीका लागि विकेश लामाले खेलको सुरु भएको पहिलो मिनेटमा नै गोल गरे । त्यसपछि सन्दिप पुडासैनीले ४५ मिनेटमा र अमृत थिङ लामाले निर्धारित समय सकिएपछि थप गरिएको समयमा गोल गरेपछि बेलकोटगढीले म्यागङलाई ३–० गोल अन्तरले पराजित गर्न सफल भयो । बेलकोटगढीका सन्दिप पुडासैनी म्यान अफ द म्याच घोषित भए ।
दोस्रो खेलमा पञ्चकन्या गाउँपालिकाले दुप्चेश्वर गाउँपालिकालाई २–१ ले पराजित गर्यो । जितसँगै पञ्चकन्या क्वाटरफाइनलमा प्रवेश गर्न सफल भयो । पञ्चकन्याका लागि सञ्जय शाहीले ५ औं र १५ औं मिनेटमा गोल गरे । दुप्चेश्वरका राकेश दोङले ३८ औं मिनेटमा एक गोल फर्काए । पञ्चकन्याका सुवास तामाङ म्यान अफ द म्याच भए ।
तेस्रो खेलमा सुर्यगढी गाउँपालिकाले तारकेश्वर गाउँपालिकालाई २–० ले पराजित गरेको छ । यो जितसँगै सुर्यगढी समूह सी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । सुर्यगढीका लागि खेलको ६० र ६८ औं मिनेटमा निशान श्रेष्ठले गोल गरे । खेलको अन्तिम समयमा तारकेश्वरले पेनाल्टीको मौका पाएको थियो । तर तारकेश्वरका गोविन्द रिमालले प्रहार गरेको पेनाल्टी सुर्यगढीका गोलकिपर विक्रम गुरुङले रोके । उनी नै खेलको म्यान अफ द म्याच भए ।
तारकेश्वरको हारपछि ककनी गाउँपालिका समूह सी बाट उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा अब शिवपुरी र ककनी तथा सुर्यगढी र पञ्चकन्याबीच प्रतिस्पर्धा हुनेछ ।