पोखरा । मोफसलकै चर्चित राष्ट्रिय फुटबल प्रतियोगिता आहा रारा गोल्डकप फुटबलको १९ औ संस्करण आजबाट सुरु हुँदैछ ।
पोखरा रंगशालामा आयोजना हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र नेपाल एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
आयोजक र एपीएफबीचको खेल दिउँसो २:३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा दुबै टिम जित निकाल्दै सेमिफाइनल पुग्न चाहन्छ । त्यसैले खेल रोमान्चक हुने अनुमान गरिएको छ ।
आयोजकले हालसम्म प्रतियोगितामा ३५ खेल खेलेको छ । जसमा २२ खेलमा जित निकाल्दा १३ खेलमा पराजित भएको छ ।
सहाराले बिस २०७० मा उपाधि जितेको थियो । यस्तै २०६९ र २०७३ मा उपविजेता बनेको थियो ।
एपीएफले आहा रारामा २२ खेल खेलेको छ । जसमा ८ खेल जित्दा १४ खेल गुमाएको छ ।
एपीएफ बिस २०६४ सालको उपविजेता टिम हो ।
प्रतियोगितामा स्वदेशी तथा बिदेशी गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ ।
यस संस्करणमा नेपाल आयल निगम मनाङ मस्याङ्ग्दी क्लब, नेपाल पुलिस क्लब, रुस्लान थ्री स्टार क्लब, नेपाल एपिएफ क्लब, संकटा क्लब, मछिन्द्र क्लब, अफ्रिकन रूट एसोसिएसन क्यामरुन र सहारा क्लब पोखराको सहभागिता रहेको छ ।
गत संस्करणमा मनाङ मस्याङ्ग्दीले नेपाल पुलिस हराएर उपाधि जितेको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ भने उपबिजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
व्यक्तिगत विधातर्फ सुर्य बहादुर केसी मेमोरियल उत्कृष्ट गोलकिपर, डिफेन्डर,मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।
आयोजकले दर्शकको लागि टिकट दर समेत राखेको छ । क्वाटरफाइनल खेलका लागि १ सय ५०, सेमिफाइनल खेलका लागि २ सय र फाइनल खेलका लागि ३ सय टिकट दर राखिएको छ ।