काठमाडौं । एएफसी कप-२०२१ प्ले अफ अन्तर्गत नेपालको त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिस स्पोर्ट्स क्लबबीचको खेलमा रंगशालाको क्षमता भन्दा आधा दर्शकलाई मात्र दशरथ रंगशालामा प्रवेश दिईने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्मी र श्रीलंका पुलिसबीचको खेलमा रंगशालाको क्षमताको आधा दर्शकलाई प्रवेश गराईने जनाएको छ ।
आर्मीले दशरथ रंगशालामा श्रीलंकाको पुलिस क्लबसँग चैत २५ गते प्रतिस्पर्धा गर्नेछ । खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
दशरथ रंगशालाको क्षमता १५ हजार रहेको छ । तर, कोरोनाको महामारी र एएफसीको नियमलाई मध्येनजर गर्दै आधा दर्शकलाई मात्र मैदान प्रवेशको अनुमति हुने एन्फाले जनाएको छ ।
आर्मी र श्रीलंका पुलिसबीचको खेल हेर्न दुई फरक टिकट दर राखिएको छ । सामान्यतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट मूल्य राखिएको छ ।
करिब २० लाख खर्च हुने खेलमा उठेको रकम क्लबको हुनेछ ।
श्रीलंकन टिमले नेपाल आएपछि जंगी अड्डामा तयारी गर्नेछ ।
पहिलो खेलमा श्रीलंकाको पुलिसलाई हराएमा आर्मीले दोस्रो खेलमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल अप्रिल १४ मा हुनेछ ।
भारतको बेंगलुरुलाई पराजित गरेको खण्डमा आर्मीले अप्रिल २१ मा हुने प्ले अफको फाइनल खेल खेल्नेछ ।
यस प्ले अफको विजेताले समूह चरणको समूह 'डी' स्थान बनाउने छन् ।
समूह 'डी' मा भारतको मोहुन बगान, बंगलादेशको बसुन्धरा किंग्स र माल्दिभ्सको माजिया एण्ड रिक्रिएसन रहेका छन् । यस समूहका समूह चरणका खेलहरु मे १४ बाट सुरु हुनेछ ।
एएफसीको क्लब लाईसेन्स प्राप्त गरेपछि आर्मीले पहिलो पटक एएफसीको प्रतियोगिता खेल लागेको हो ।
सहिद स्मारक 'ए' डिभिजन लिगमा उपविजेता बनेपनि च्याम्पियन मछिन्द्रको लाईसेन्स नहुँदा आर्मीले प्ले अफको मौका पाएको हो ।