काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को टिम बुटवल लुम्बिनी एफसीले विदेशी खेलाडी सार्वजनिक गरेको छ ।
बुटवल लुम्बिनी एफसीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताका लागि तीन विदेशी खेलाडी सार्वजनिक गरेको हो ।
भारतको आईलिग खेलिसकेका अफ्रिकन खेलाडीलाई बुटवल लुम्बिनी एफसीले अनुबन्ध गरेको हो ।
घानाका ओपाकुकु विलियान ओलियम, नाइजेरियाका ओमुलाजा करिम र चाडका अर्माड बेअडुमलाई बुटवलले टिममा अनुबन्धित गरेको हो ।
चाडको खेलाडी अर्माडले गत सिजन च्यासल युथ क्लबबाट नकआउट प्रतियोगिता खेलेका थिए ।
कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष राजकुमार तिमिल्सिनाले क्लबसँग १८ खेलाडी अनुबन्धित भईसकेको बताए । उनले अब दुई स्थानीय खेलाडी अनुबन्ध गर्न बाँकी रहेको बताए ।
'२० मध्ये १८ खेलाडी पूरा भएको छ । अब लोकल खेलाडी राख्न बाँकी रहेको छ,' उनले भने ।
अध्यक्ष तिमल्सिनाले खेलाडीलाई सोल्टी होटलमा राखेर प्रशिक्षण दिने समेत जानकारी गराए ।
टिमका मार्की खेलाडी विशाल श्रेष्ठले बुटवलको टिम बलियो बनेको बताए ।
'टिम मिलेको छ । अनुभवी र युवा खेलाडी टिममा छन । टेक्निकल पाटो पनि राम्रो छ । टिममा मुख्य प्रशिक्षक राजुकाजी शाक्य हुनु हुन्छ । यसले खेलाडीको मनोबल बढाएको छ,' उनले भने ।
मुख्य प्रशिक्षक राजु काजी शाक्यले विदेशी खेलाडी टिमसँग सेट भएमा फाईदा हुने बताए ।
'हामीले च्याम्पियन बन्न मिहिनेत त गर्नै पर्छ । विदेशी खेलाडीले नेपालमा एडजस्ट गर्न सके राम्रो हुन्छ तर नेपाली मैदानमा एडजस्ट नभए गार्हो हुन्छ,' शाक्यले भने।
पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहेको छ । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ । लिगमा कुल १९ खेल हुनेछ ।
बुटवल लुम्बिनी एफसी टिम -
विशाल श्रेष्ठ, सुरज बिक, मन बहादुर परियार, सेसेहाङ आङ्देम्बे, शत्रुधन चौधरी, रबिन श्रेष्ठ, सुरज बिक, लक्ष्मण रुचाल, रबि थापा मगर, आमिर श्रेष्ठ, अनिल महर्जन, आशिष लामा, चेतन कुमार थारु, सुमन लामा, जय गुरुङ, रन्दिप पौडेल, ओपाकुकु विलियान ओलियम, ओमुलाजा करिम,अर्माड बेअडुम