काठमाडौं । सरकारले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही ४ लाख पुरस्कार दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४/४ लाख दिने निर्णय गरेको हो ।
यस अघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको थियो ।
दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो ।
नेपाललाई उपाधि दिलाउन संजोक राई र विशाल राई 'बी' ले एक एक गोल गरेका । बंगलादेशका महबुबुर रहमानले एक गोल फर्काएका थिए ।
थ्री नेसन्सको उपाधिसँगै नेपालले ३७ वर्षपछि घरेलु भूमिमा पहिलो उपाधि जितेको हो । यस अघि नेपालले सन् १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।
उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।