काठमाडौं । थ्री नेसन्स कपको उपाधिका लागि आज आयोजक नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशालामा हुने फाइनल खेल साँझ साढे ५ बजे सुरु हुनेछ ।
थ्री नेसन्स कपमा नेपाल र बंगलादेश सहित किर्गिस्तानको यू-२३ टिमको सहभागीता रहेको छ । किर्गिस्तान भने बाहिरिसकेको छ ।
यस अघि लिग चरणको खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए । करिब ६६ सय दर्शक माँझ नेपालले केहि राम्रो प्रयास गरेपनि गोल गर्नबाट भने चुकेको थियो ।
फाइनलमा भने नेपाल गोल गर्दै उपाधि घरमै राख्न चाहन्छ । बंगलादेश पनि उपाधि घर लैजाने योजनामा रहेको छ ।
त्यसैले नेपाल र बंगलादेशबीचको फाइनल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
फाइनलमा दुबै टोलीका लागि केहि महत्वपूर्ण खेलाडी रहेका छन् । जसले फाइलनमा उत्कृष्ट खेल प्रदर्शन गर्न सक्छन् र दर्शकको मन जित्न सक्छन् । बंगलादेशका लागि कप्तान तथा डिफेन्डर जमल भुया र नेपालका लागि विंगर तथा अट्याकर अन्जन विष्ट रहेका छन् ।
अन्जन विष्ट
होचा कदका विंगर अन्जन पछिल्लो समय नेपाली टिमका महत्वपूर्ण खेलाडी हुन् । यस अघि मिडफिल्डर र विंगरको भुमिकामा रहँदै आएका अन्जन थ्री नेसन्स कपमा भने अट्याकिङ भूमिकामा रहेका छन् । उमेर समूहमा निकैनै सफल यी खेलाडी पछिल्ला समय टोलीका प्रभावशाली खेलाडी समेत हुन् । युरोपमा समेत रहेर केहि समय प्रशिक्षण गरिसकेका अन्जन घरेलु फुटबलमा सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने गर्छन् । यस अघि प्रतियोगितामा गोल विहिन रहेको नेपाललाई फाइलनमा गोल निकाल्नेमा २१ वर्षीय अन्जनमाथि नेपाली समर्थकले आशा गरेका छन् ।
जमल भुया
जमल भुया बंगलादेशका लागि प्रभावशाली कप्तान हुन् । उनले पछिल्ला समय अन्तराष्ट्रिय फुटबलमा एकै किसिमको प्रदर्शन जारी राख्दै आएका छन् । ब्यवसायिक फुटबलका लागि भारतको मोहम्मेडन स्पोर्टस् क्लबसँग आबद्ध रहेका उनि भारतबाट सोझै प्रतियोगिता खेल्न नेपाल आईपुगेका हुन् । ३० वार्हिया यी कप्तान रक्षापंक्ति र मिड लाईका लागि उत्कृष्ट रहन्छन् । भारत खेल्नु अघि जमल घरेलु लिगमा शैफ स्पोर्टिङ क्लब र चित्तागोङ अवहानी लिमिटेडबाट खेल्ने गर्थे । बंगलादेशका लागि ४३ खेल खेलिसकेका जमलको नेपालविरुद्ध प्रदर्शनले निकैनै महत्व राख्नेछ ।