काठमाडौं । सम्भवत विराज महर्जनले अन्तराष्ट्रिय फुटबल करियरलाई सोमबारबाट बिदाई गर्नेछन् ।
थ्री नेसन्स कप फुटबलको फाईनलमा नेपालले उपाधिका लागि आज बंगलादेशसँग खेल्दैछ ।
सम्भवत यही खेल विराजको अन्तिम अन्तराष्ट्रिय खेल हुनेछ ।
विराजले राष्ट्रिय फुटबल टिमबाट सन्यास लिने सोच बनाएका छन् । लामो समय टिम बाहिर रहेपछि विराज सन्यासको उपयुक्त मौकाको पर्खाईमा रहेका थिए । थ्री नेसन्स उनकालागि मौका हुन सक्छ ।
थ्री नेसन्स कपको टोलीमा परेका विराजले अघिल्ला दुई खेलमा अवसर पाएनन् । किर्गिस्तान र बंगलादेशसंग गोल रहित बराबरी नतिजा निस्किएको खेलमा विराज बेन्चमै बसे । सम्भवत अन्तिम खेलमा विराजले मौका पाउनेछन् । र त्यहीबाट उनले बिदाईको हात हल्लाउनेछन् ।
विराज नेपाली फुटबलका सर्वाधिक सफल कप्तान रहे । उनकै नेतृत्वमा नेपालले साग गेम्समा स्वर्णदेखि बंगबन्धु गोल्डकप र सोलिडारिटी कपको उपाधि उचाल्यो । लामो समयको उपाधि खडेरीलाई तोड्दै विराजकै कप्तानीमा नेपालले एकपछि अर्को सफलता हात पारेको हो ।
शालिन ब्यक्तित्वका विराज घरेलु फुटबलका अनुशासित खेलाडी मानिन्छन् । पछिल्लो समय खस्किलो फर्मका कारण उनी राष्ट्रिय टिम बाहिर रहँदै आएका थिए । तत्कालिन मुख्य प्रशिक्षक योहान कालिनसंग उनको सम्बन्ध पनि खासै राम्रो रहन सकेन । कालिनले कप्तान विराजलाई बाहिर राख्दै राष्ट्रिय टिमलाई अघि बढाएका थिए ।
डिफेन्डरको पोजिसनमा खेल्दै विराज ओभरल्यापमा अघि बढ्दै बल निकाल्न माहिर मानिन्छन् । रक्षापङ्तीका दुवै पोजिसनबाट खेल्न सक्ने उनको विशेष खुबी रहेको छ ।