काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको फाइनलमा गोल निकाल्दै उपाधि जित्ने बताएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको लिगको अन्तिम खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेपनि महर्जनले फाइनलमा गोल गर्ने बताएका हुन् ।
'आज बंगलादेशसँग अंक नगुमाउने र अंक लिने रणनीति अपनाएको थिए । तर, पछिल्लो दुई खेलमा स्कोर निस्किएको छैन', महर्जनले भने, 'फाइनलमा स्कोर गर्छौ भन्ने आशा छ ।'
बंगलादेशसँग बराबरीमा रोकिएपनि नेपाल फाइनल पुगेको हो । अब नेपालले सोमबार हुने फाइनलमा बंगलादेशसँग नै खेल्नेछ ।
महर्जनले फाइनल खेल गर या मरको स्थितिमा हुने समेत बताए ।
'बंगलादेश पनि राम्रो छ । फाइनल खेल दुबैका लागि गर या मरकै स्थितिमा हुनेछ,' उनले भने ।
महर्जनले गोल गर्न नसक्नु नेपालको पहिलेदेखिकै कमजोरी रहेको बताए ।
'स्कोर गर्न नसक्ने हाम्रो पहिलो देखिकै कमजोरी हो । अट्याकिङ पोजिसन सुधार्दै लैजानु पर्छ । हामी त्यसमा लागि रहेका छौँ,' उनले भने, 'राम्रो खेलाडीले जुन सुकै पोजिसनमा खेल्न सक्नु पर्छ । त्यसैले खेलाडीको पोजिसन परिवर्तन गर्दा कुनै फरक पर्दैन ।'
यस्तै डिफेन्डर रोहित चन्दले राम्रो खेल्ने प्रयास गरेपनि गोल निकाल्न नसकेको बताए ।
'हामीले सक्दो राम्रो खेल्ने प्रयास गरेका थियौं । बराबरी खेल्यो । सबै खेलाडी खुसी छन्,' उनले भने ।
बंगलादेशका मुख्य प्रशिक्षक जेम्स डेले टिमले राम्रो खेलेको बताए ।
'हामीले राम्रो खेल्यौं । राम्रो टोलिसँग बराबरी खेल्दै फाइनल पुग्यौ,' उनले भने, 'नेपालको डिफेन्सिभ खेल राम्रो थियो ।'