काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको दोस्रो खेलमा नेपालले अहिले बंगलादेशसँग प्रतिस्पर्धा गरिरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुबै टोलीले पाएको केहि मौकामा सदुपयोग गर्न सकेनन् ।
बंगलादेशविरुद्ध नेपालले आक्रामक सुरुवात गरेको थियो । तर, गोल निकाल्न सकेन ।
खेलको २१ औं मिनेटमा त्रिदेब गुरुङको क्रसमा अन्जन विष्टको फ्रि हेडर क्रसबारको केहि माथिबाट बाहिरिएको थियो ।
बंगलादेशले पनि पहिलो हाफमा केहि गोलको अवसर निकालेको थियो ।
खेलको ३७ औं मिनेटमा मोहमद इमोनको हेडर दिनेश राजवंशीले गोललाइनको ठिक अगाडीबाट क्लियर गरेका थिए ।
खेलको ४० औं मिनेटमा कप्तान जमल भुयाको उत्कृष्ट फ्रिकिक पोस्ट नजिकबाट बाहिरिदा बंगलादेश अग्रता बनाउन चुकेको थियो ।
नेपाल आज बंगलादेशलाई हराएर फाइनल पुग्ने लक्ष्यमा रहेको छ ।
प्रतियोगिताको फाइनल पुग्न नेपाललाई बंगलादेशविरुद्ध जित वा बराबरीको नतिजा निकाल्नु पर्नेछ । त्यसैले यस खेल नेपालका लागि महत्वपूर्ण रहेको छ ।
बंगलादेश भने यस अघि नै फाइनल पुगिसकेको छ । जसको कारण बंगलादेश नेपालविरुद्ध डररहित मैदान उत्रनेछ ।
बंगलादेशले पहिलो खेलमा किर्गिस्तानको यू-२३ टिमलाई १-० ले हराएको थियो । नेपालले भने किर्गिस्तानविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
प्रतियोगितामा बंगलादेशले १ खेलमा ३ अंक जोडेको छ । नेपालले १ खेलमा १ अंक जोडेको छ । किर्गिस्तानले २ खेलमा १ अंक जोडेको छ ।
किर्गिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपाल बंगलादेशसँग दुई भन्दा बढी गोल अन्तरले पराजित भएको खण्डमा किर्गिस्तान फाइनल पुग्नेछ ।
राउण्ड रोबिनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।