काठमाडौं । थ्री नेसन्स कप फुटबल अन्तर्गत बिहीबार किर्गिस्तानविरुद्धको खेलमा नेपालका तीन खेलाडीले सिनियर टिममा डेब्यु गरेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा किर्गिस्तानको ओलम्पिक टिमविरुद्ध मिडफिल्डर संजोक राई, त्रिदेब गुरुङ र डिफेन्डर निशान खड्काले सिनियर डेब्यु गरेका हुन् ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पहिलो पटक राष्ट्रिय टिममा परेका थ्रीस्टारबाट खेल्दै आएका संजोक राई र निशान खड्का तथा हिमालयन शेर्पाबाट खेल्दै आएका त्रिदेबलाई मौका दिएका हुन् ।
तर, किर्गिस्तानको टिम ओलम्पिक टिम भएको कारण उनीहरुको डेब्यु अन्तराष्ट्रिय डेब्यु भने हुने छैन । शनिबार हुने बंगलादेशविरुद्ध मौका पाएमा उनीहरुको आधिकारिक अन्तराष्ट्रिय डेब्यु हुनेछ ।
नेपालको सिनियर टिममा डेब्यु गरेका तीनै खेलाडी उदयमान खेलाईको रुपमा रहेका छन् । उनीहरु फुटबलको फ्रेन्चाइज नेपाल सुपर लिग टिममा समेत अनुबन्धित भईसकेका छन् ।

सिनियर टिममा डेब्यु गर्ने खेलाडी कस्ता ?
संजोक राई

घरेलु लिगमा संजोक थ्रीस्टार क्लबका आबद्ध छन् । लिगको केहि खेलपछि क्लबसँग आवद्ध भएका उनी गत सिजनको लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत हुन् । पछिल्लो समय मोफसलमा बढि रुचाईएका यी खेलाडीलाई प्रशिक्षक बालगोपाल महर्जनले किर्गिस्तानविरुद्ध सुरुवाती सेटमै खेलाएका थिए । खेलको ८६ मिनेट मैदानमा बिताएका उनलाई विशाल राईले स्थानान्तरण गरेका थिए । पहिलो पटक अन्तराष्ट्रिय खेल खेलेका उनले पाएका केहि अवसर भने चुकाउन पुगेका थिए । आगामी सुपर लिगका लागि संजोक काठमाडौं रेजर्ससँग १ लाखमा अनुबन्धित भएका छन् ।
त्रिदेभ गुरुङ

प्रशिक्षक बालगोपाल महर्जनलाई विश्वास दिलाउँदै प्लेईङ सेटमै डेब्यू गर्ने अर्का खेलाडी हुन् त्रिदेभ गुरुङ । घरेलु लिगमा हिमालयन शेर्पाका लागि खेल्दै आएका उनि पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका हुन् । सुरुवाती-११ मै स्थान बनाएका त्रिदेभ ५९ मिनेटमा मैदान छाडेका थिए । १३ औं सागका स्वर्ण विजेता कप्तान सुजल श्रेष्ठले त्रिदेभलाई स्थानान्तरण गरे । त्रिदेभ समेत १ लाखमा काठमाडौं रेजर्समा अनुबन्धित छन् ।
निशान खड्का
डिफेन्डर निशान खड्का घरेलु लिगमा थ्रीस्टारबाट खेल्ने गर्छन् । नाम चलेका केहि खेलाडीले टोली छाडेसँगै थ्रीस्टारले उनलाई विश्वास गरेर टोलीमा झिकाएको थियो । उनले त्यसको न्याय समेत गरेका थिए । पछिल्लो समय मोफसलमा समेत राम्रो प्रभाव छाडेका निशान ८६ औं मिनेटमा मैदान छिरेका थिए । रन्जित धिमालको स्थानमा निशान मैदान छिरेका थिए । उनले नियमित ४ र थपिएको ६ मिनेट मैदानमा बिताएका थिए । निशान आगामी सुपर लिगका लागि १ लाखमा धनगढीसँग बिक्रि भएका छन् ।
