काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा झापा एफसीले दोस्रो जित निकालेको छ ।
बिहीबार भएको खेलमा १० खेलाडीमा सिमित मनोहरा युनाईटेड क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै झापाले दोस्रो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन गणेश हेमरामले दुई गोल गरे । पुजन राई र सरोज दर्जी कार्की डोलीले एक एक गोल गरे ।
मनोहराका तीर्थ राज बस्नेतले एक गोल फर्काए । यस्तै कप्तान विनायक खड्काले रातो कार्ड पाएपछि मनोहरा १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै झापाले ४ खेलमा ६ अंक जोडेको छ ।
मनोहराले ४ खेलमा ६ अंक नै जोडेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।