नेपालगन्ज । स्टार सिटी युवा क्लब कैलालीले बिहीबार कर्णाली प्रदेशको लेकाली युवा क्लबलाई ७–१ ले पराजित गरेको छ ।
नेपालगन्ज रंगशालमा भएको खेलमा स्टारलाई जित दिलाउन रुप बहादुर लामाले ५ गोल गरे ।
यस्तै टोप बहादुर विष्ट र ऋतिक खड्काले एक एक गोल गरे । लेकालीका लागि रोशन रानामगरले एक गोल फर्काए ।
जितसँगै स्टार सिटीले १३ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । स्टारले ५ खेलमा ४ मा जित र १ खेल बराबरी खेलेको छ । तालिकाको पुछारमा रहेको लेकालीले ५ खेलमा १ खेलमा बराबरी र ४ खेलमा हारको सामना गर्दै १ अंक मात्र जोड्न सकेको छ ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउने छन् ।
प्रतियोगितामा विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् ।
यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउनेछन् ।
प्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्ने पाउनेछन् ।