झापाको पहिलो जित

काठमाडौं । झापा एफसीले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
आइतबार भएको खेलमा समाज कल्याण खेलकुद केन्द्रलाई २-० गोल अन्तरले पराजित गर्दै झापाले पहिलो जित निकालेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा झापालाई जित दिलाउन सरोज दर्जी कार्की डोली र श्याम मर्मुले एक एक गोल गरे ।
खेलको नवौं मिनेटमा सरोजले गोल गर्दै झापालाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८८ औं मिनेटमा श्यामुले गोल गर्दै टिमलाई २-० को जित दिलाए ।
जितसँगै झापाले ३ खेलमा ३ अंक जोडेको छ । झापाले अघिल्ला दुई खेलमा हार व्यहोरेको थियो।
समाज कल्याणको यो पहिलो हार हो ।
समाजले ३ खेलमा ६ अंक जोडेको छ ।
लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् । सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ । प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।