काठमाडौं । मनोहरा युनाईटेडले सहिद स्मारक 'सी' डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
सोमबार भएको खेलमा १० खेलाडीमा सिमित महाबिर क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै मनोहराले विजयी सुरुवात गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलको १९ औं मिनेटमा ओम प्रकाश सिंहले गोल गर्दै मनोहरालाई अग्रता दिलाएका थिए ।
खेलको २२ औं मिनेटमा विनय खड्काले गोल गर्दै मनोहराको अग्रता २-० को बनाए ।
खेलको २७ औं मिनेटमा राम ढकालले गोल गर्दै महाबिरलाई २-१ को स्थितिमा ल्याए ।
यस्तै खेलको ५४ औं मिनेटमा गोलकिपर आमोस टुडुले रातो कार्ड पाएपछि महाबिर १० खेलाडीमा समेटिएको थियो ।
खेलको ८१ औं मिनेटमा महाबिरका रोमन तामाङले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८७ औं मिनेटमा सुनिल लामाले गोल गर्दै मनोहरालाई ३-२ को जित दिलाए ।
जितसँगै मनोहोराले पहिलो खेलमा ३ अंक जोडेको छ । महाबिरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
समूहको शीर्ष ३ टोलीले सुपर सिक्स चरणमा पुग्ने छन् ।
सुपर सिक्सको शीर्ष ३ टोली 'बी' डिभिजनमा बढुवा हुनेछ ।
यस्तै समूहको पुछारमा रहेको दुई टिमले प्ले अफ खेल खेल्नेछ ।
प्ले अफमा पराजित हुने टिम रेलिगेसनमा पर्नेछ ।