काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा मध्यपुर युथ एसोसियसनले जित निकालेको छ ।
लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा मध्यपुरले बिहीबार झम्सिखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यपुरलाई जित दिलाउन रोनिस ढिके राजबाहक र धिरज श्रेष्ठले एक एक गोल गरे ।
झम्सिखेलका मनिष खड्काले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा मनिषले गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए ।
तर, खेलको ३६ औं मिनेटमा रोनिसले गोल गर्दै मध्यपुरलाई १-१ को बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलको इन्जुरी समयमा धिरजले गोल गर्दै मध्यपुरलाई २-१ को जित दिलाए ।
यस जितसँगै मध्यपुरले लिगको सुखद अन्त्य गरेको छ ।
जितपछि मध्यपुरले ११ खेलमा १६ अंक जोडेको छ । र, मध्यपुरले चौंथो स्थानमा रहदै लिगको अन्त्य गरेको छ ।
झम्सिखेल ११ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।