काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबल आजबाट सकिदैछ ।
एन्फा कम्प्लेक्समा जारी लिगको अन्तिम दिन बिहीबार दुई खेलहरु हुनेछ ।
पहिलो खेलमा झम्सिखेल युथ क्लब र मध्यपुर युथ एसोसियसनले प्रतिस्पर्धा गर्ने छन् ।
झम्सिखेल र मध्यपुरबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
दुबै टिम लिग चरणको अन्तिम खेलमा जित निकाल्ने लक्ष्यमा हुने छन् ।
झम्सिखेल १० खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
मध्यपुर १३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
अर्को खेलमा च्याम्पियन सातदोबाटो युथ क्लबले रानीपोखरी कर्नर टिम आरसिटीसँग खेल्नेछ ।
सातदोबाटो र आरसिटीबीचको खेल अपरान्ह २:३० बजे सुरु हुनेछ ।
दुई खेल अगाबै च्याम्पियन बनेर 'ए' डिभिजनमा बढुवा भएको सातदोबाटो अन्तिम खेलमा जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ ।
सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
आरसिटी १३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
आरसिटी पनि सातदोबाटोलाई हराएर लिगको सुखद अन्त्य गर्ने योजनामा हुनेछ ।
लिगबाट पुल्चोक स्पोर्ट्स क्लब यस अघि नै 'सी' डिभिजनमा घटुवा भईसकेको छ ।