एजेन्सी । म्यानचेस्टर युनाईटेडका स्ट्राइकर एडिन्सन काभानीका बुबाले इंग्ल्यान्डका काभानीले असहज अनुभव गरिरहेको बताएका छन् ।
काभानीका बुबा लुइस काभानीले इंग्ल्यान्ड बसाई असहज भएकोले उनी दक्षिण अमेरिका फर्कन सक्ने समेत बताए ।
'हामी धेरै चिन्तित छौं । हामी उनकोमा सधै जाने गर्छौं । उ सुन्दर ठाउँमा छन् जहाँ मानिसहरूले उनलाई धेरै राम्रो स्वागत गरेका छन्,' टिसी स्पोर्ट्ससँगको अन्तर्वार्तामा लुइस काभानीले भनेका छन्, 'उसले त्यहाँ धेरै साथी बनाएको छ तर आज उनलाई त्यहाँ सहज छैन ।'
उरुग्वेका फरवार्ड काभानी गत अक्टोबरमा म्यानचेस्टर युनाईटेड आएका थिए । फ्रेन्च क्लब पीएसजीसँगको सम्झौता सकिएपछि उनी फ्री ट्रान्सफरमा इंग्ल्यान्ड आएका हुन् ।
३४ वर्षीय काभानीले यस सिजन युनाईटेडका लागि २५ खेलमा ७ गोल गरेका छन् ।
यस्तै काभानीका बुबाले उनी दक्षिण अमेरिका फर्कने सम्भावना ६० प्रतिशत रहेको बताए ।
'एडिन्सन दक्षिण अमेरिका आउने सम्भावना ६० प्रतिशत छ,' उनले भनेका छन् ।
यस्तै लुइसले एडिन्सनले अर्जेन्टिनाको बोका जुनियर्सबाट खेल्न सक्ने समेत बताए ।