अतिरिक्त समयमा सलाहको निर्णायक गोल, इजिप्ट एएफकनको क्वार्टरफाइनलमा

काठमाडौं। मोहम्मद सलाहले अतिरिक्त समयको अन्तिम क्षणमा गोल गर्दै इजिप्टलाई बेनिनविरुद्ध ३–१ को जित दिलाएका छन्।
यससँगै आठौंपल्ट उपाधि जित्ने लक्ष्यमा अघि बढिरहेको इजिप्ट अफ्रिका कप अफ नेसन्सको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको अर्को खेलमा नाइजेरियाले मोजाम्बिकलाई ४–० ले पराजित गर्यो।
इजिप्टले खेलको सुरुआतदेखि नै दबाब बनाए पनि नियमित समयमा १–१ को बराबरीमा सीमित हुन पुग्यो। खेलको ६९औं मिनेटमा मारवान अत्तियाले इजिप्टलाई अग्रता दिलाए। तर, ८३औं मिनेटमा बेनिनका जोडेल डोसुले रिबाउन्डमा गोल गर्दै खेल बराबरीमा ल्याए।
अतिरिक्त समयको सातौं मिनेटमा यासेर इब्राहिमले अत्तियाको क्रसमा हेडरमार्फत गोल गर्दै इजिप्टलाई फेरि अग्रता दिलाए। त्यसपछि काउन्टर आक्रमणमा सलाहले पेनाल्टी क्षेत्र बाहिरबाट सट हानेर गोल गर्दै जित पक्का गरे। यो प्रतियोगितामा सलाहको तेस्रो गोल हो।
खेलपछि इजिप्टका प्रशिक्षक होसाम हसनले भने,‘यहाँ सजिलो टोली भन्ने हुँदैन भनेर मैले खेलअघि नै भनेको थिएँ। बेनिन निकै कठिन प्रतिद्वन्द्वी सावित भयो।’
घाइते स्ट्राइकर स्टिभ मुनिएबिना खेलेको बेनिनको प्रदर्शनबाट प्रशिक्षक गर्नोट रोहर सन्तुष्ट देखिए। ‘यस्तो खेलमा उनी भएको भए हाम्रा लागि धेरै सहयोगी हुन्थे,’ रोहरले भने,‘तर, म आफ्ना खेलाडीहरूको एकता र संघर्षशील भावनामा गर्व गर्छु। यो भविष्यका लागि सकारात्मक संकेत हो।’
खेलको पहिलो हाफमा इजिप्टलाई ठूलो झट्का लागेको थियो। लेफ्ट ब्याक मोहम्मद हम्दी डोकु डोडोसँग ठोक्किँदा गम्भीर घुँडाको चोट लागेपछि स्ट्रेचरमा बाहिरिन बाध्य भए। प्रशिक्षक हसनले भने,‘उनका लागि नै उनका साथीहरूले यो खेल जिते।’
इजिप्ट अब शनिबार क्वार्टरफाइनलमा बुर्किना फासो वा डिफेन्डिङ च्याम्पियन आइभोरी कोस्टसँग भिड्नेछ। प्रतियोगितामा सबै खेल एगाडिरमै खेलेको इजिप्टले अतिरिक्त एक दिनको विश्राम पनि पाउनेछ।














