नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

काठमाडौं। स्टार ब्राजिलियन फुटबलर नेयमारको करिअरमा चोट सधैं ठूलो समस्या बनेर आएको छ। करिअरका महत्त्वपूर्ण समयमा पटक–पटक चोटग्रस्त भएर लामो समय मैदान बाहिर बस्नुपरेको छ उनलाई।
यस्तै चोटले ग्रस्त एक कठिन समयमै नेयमारले सन्न्यासको बारेमा सोचेको कुरा उनका पिता नेयमार सिनियरले खुलासा गरेका छन्।
हाल नेयमार मेनिस्कसको चोटबाट पीडित छन्। गत सिजन सान्तोसका लागि महत्त्वपूर्ण समयमा मैदानमा उत्रिए पनि उनी पूर्ण रूपमा फिट हुन सकेनन्। गएको २२ डिसेम्बरमा उनको बायाँ घुँडाको शल्यक्रिया गरिएको थियो।
३३ वर्षे नेयमारको शल्यक्रियाअघिको मानसिक अवस्थाबारे एक अन्तर्वार्तामा नेयमार सिनियरले भने,‘मेनिस्कसको चोटको खबर मिडियामा आएपछि नेयमार मानसिक रूपमा पूर्ण रूपमा विक्षिप्त थिए।” घरमा गएर कुरा गर्दा नेयमारले आफू पहिलेझैं परिस्थितिलाई सम्हाल्न नसकिरहेको र शल्यक्रिया गरेपछि साँच्चै निको हुन्छु कि हुँदैन भन्नेमा शंका लागेको बताएका थिए।
बुवाको नजरमा त्यो बेला छोराभित्र गहिरो निराशा देखिन्थ्यो। त्यसपछि नेयमार सिनियरले उनलाई दुई कुरामा ध्यान केन्द्रित गर्न सल्लाह दिए। चोट जितेर मैदानमा फर्केर आलोचकहरूलाई जवाफ दिने र विश्वकप खेल्ने सपना जोगाइराख्ने।
नेयमार सिनियरले थपे,‘शल्यक्रिया गर्ने निर्णय लिएमा उपचार र रिह्याबको सम्पूर्ण प्रक्रियामा म सधैं छोरासँगै रहने आश्वासन दिइरहन्थे। यसले नेयमारको मानसिकता बलियो बनायो।’ त्यसको भोलिपल्ट नै नेयमारमा सकारात्मक परिवर्तन देखियो। उनले फेरि अभ्यास सुरु गरे। दुवै खुट्टाले शट हान्न थाले र आत्मविश्वास फर्किएको संकेत दिए।
नेयमारले ब्राजिलका लागि १२८ अन्तर्राष्ट्रिय खेल खेल्दै कीर्तिमानी ७९ गोल गरेका छन्। ब्राजिलका पोस्टर ब्वाइका रूपमा चिनिने उनले तीन वटा विश्वकप पनि खेलेका छन्।








-1767608511823.jpeg&w=3840&q=75)







