काठमाडौं । पहिलो पटक बृहत रुपमा आयोजना भएको महिला राष्ट्रिय फुटबलको चौथो चरणको खेलहरु बिहीबारबाट सुरु भएको छ ।
सातदोबाटोस्थित एन्फा मैदानमा विभागीय डर्बी एपीएफ र पुलिससँगको खेलसंगै चौंथो चरणको खेलहरु सुरु भएको हो ।
प्रतियोगिताको १२ औं लिग खेल सकिदा शतप्रतिशत जित सहित एपीएफ शीर्ष स्थानमा रहेको छ । ४ खेलमा १८ गोल गरेको एपीएफको १२ अंक रहेको छ ।
एपीएफले आफ्ना प्रभावशाली खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ को ह्याट्रिक मद्धतमा बिहीबार नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्याे ।
पहिलो हाफमा एक गोल गरेकी सावित्राले दोस्रो हाफमा थप २ गोल गरिन् । उनले खेलको ३२, ५६ र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् । उनको यो प्रतियोगितामा तेस्रो ह्याट्रिक हो । यस अघि उनले चन्द्रपुर नगरपालिकाविरुद्ध ह्याट्रिक सहित ४ गोल तथा विराटनगरविरुद्ध ह्याट्रिक पुरा गरेकी थिईन् ।
प्रतियोगितामा तेस्रो ह्याट्रिक पुरा गरेकी सावित्रा सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेकी छिन् । तर, सावित्रा सर्वाधिक गोलकर्ता भन्दा पनि क्लबलाई उपाधि दिलाउने योजनामा रहेकी छिन् ।

‘एकदमै खुसी छु । सोचजस्तो भईरहेको छ । सर्वाधिक गोलकर्ताको दौडमा छु । तर, मेरो नजर उपाधिमा छ । हाईस्कोर भन्दा पनि उपाधिको लागि खेल्छु,’ दोस्रो पटक प्रतियोगितामा प्लेयर अफ दि म्याच घोषित भएकी सावित्राले पोष्ट म्याच कन्फरेन्समा भनिन् ।
बिहीबार नै पहिलो खेलमा मेथो रुथको दोहोरो ह्याट्रिक प्रेरित वालिङ नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई १०-० को भारी गोल अन्तरले पराजित गर्याे ।
वालिङको जितमा क्यामरुनी स्ट्राइकर मेथोले एक्लै ६ गोल गरिन् । उनको प्रतियोगितामा ७ गोल भएको छ । यस अघि उनले पुलिसविरुद्ध गोल गरेकी छिन् ।
पछिल्लो समय नेपाली लिगमा सर्वाधिक गोलकर्ताको एकल प्रतिस्पर्धी साम्बाले अव भने विदेशी खेलाडी रुथसँग सर्वाधिक गोलकर्ताको लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ ।

सर्वाधिक गोलकर्ता हुने या नहुने र विदेशी प्रतिस्पर्धीबारे सावित्राले भनिन् ‘हाईस्कोरको रेसमा छु । तर, हाईस्कोर भन्दा पनि उपाधिमै नजर छ । खेल जित्दै गए स्कोर आफै बढ्दै जान्छ । विदेशी खेलाडी टप छन् ।’
अब, आगामी खेलमा एपीएफले रुथसम्मिलित वालिङ नगरपालिकासँग खेल्दैछ ।
सावित्राले वालिङसँगको खेल प्रतिस्पर्धा हुने समेत बताईन् ।
‘पहिले विभाग बाहिरका टोली कमजोर हुन्थे । धेरैनै गोल हुने गर्थ्यो । अहिले अरु क्लब पहिलो जस्तो छैन । विभागजस्तै छन्,’ उनले थपिन ।
प्रतियोगिताको दोस्रो स्थानमा नेपाल पुलिस क्लब रहेको छ । ४ खेलबाट ५ अंक बनाएको पुलिस समान अंक भएपनि वालिङभन्दा माथि रहेको हो । चौदण्डीविरुद्धको जितसँगै वालिङ तेस्रो स्थानमा उक्लिएको हो ।
१ खेल कम खेलेका आर्मी पाँचौ स्थानमा छ । उसको ३ खेलबाट ४ अंक रहेको छ । समान अंक सहित गोल अन्तरका आधारमा विराटनगर छैटौं स्थानमा छ । जित विहिन रहेको चौदण्डी पुछारमा छ ।
