काठमाडौं । साविक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार चौंथो जित निकालेको छ ।
बिहीबार भएको खेलमा नेपाल पुलिस क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले लगातार चौंथो जित निकालेको हो ।
एपीएफको जितमा सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।
खेलको ३२ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै एपीएफलाई अग्रता दिलाएकी हुन् । पुलिसका डिफेन्डरको गल्तिको फाइदा उठाउदै साबित्राले गोल गरेकी हुन् ।
पुलिसकी कप्तान घिम कुमारी गुरुङले डिबक्स लाईनमा क्लियर गर्न नसकेको बल खोस्दै सावित्राले गोलरक्षक सपना राईलाई बिट गर्दै गोल गरिन् ।
दोस्रो हाफमा सावित्राले थप दुई गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

खेलको ५६ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दा एपीएफ २-० ले अघि रह्यो । उनले डिबक्स बाहिरबाट ३ डिफेन्डरलाई बिट गर्दै गोल गरिन् ।
त्यसपछि खेलको ८४ औं मिनेटमा सावित्राले ह्याट्रिक पुरा गर्दै एपीएफलाई ३-० को जित दिलाईन् । सावित्राले पुलिसको डिफेन्डरले गरेको गल्तिको फाइदा उठाउदै गोल गरेकी हुन् ।
सावित्राको यो तेस्रो ह्याट्रिक हो । सावित्रा प्लेयर अफ दि म्याच चुनिईन् ।
खेलको ३० औं मिनेटमा पुलिसकी निरु थापा सुनौलो अवसरमा गोल गर्न चुकिन । एपीएफकी गोलरक्षक एन्जिला सुब्बाले गोलपोस्ट छोडेको फाइदा निरुले लिन सकिनन् । उनको प्रहार बाहिरिएको थियो ।
जितसंगै एपीएफले ४ खेलमा १२ अंक जोडेको छ । एपीएफ शीर्ष स्थानमा रहेको छ ।
पुलिसको यो पहिलो हार हो ।
पुलिसले ४ खेलमा ५ अंक जोडेको छ ।
के भन्छन् प्रशिक्षक ?
एपीएफका सहायक प्रशिक्षक जनक सिंह थारुले लगातारको चार जितले पनि उपाधि जित्नेमा टिम ढुक्क नभएको बताए ।
'उपाधि होडमा छौँ तर ढुक्क छैनौं । ४ खेल मात्रै खेलेका हौँ,' उनले भने, 'विश्रामको मौका पाएका छैनौँ । खेल हो भन्न सकिदैन । विभागसंगै वालिङ पनि राम्रो भएको छ ।'
पुलिसका मुख्य प्रशिक्षक सन्जिब जोशीले मुख्य डिफेन्डर घाइते हुँदा समस्या भएको बताए ।
'हामीले राम्रो खेलेको हो । डिफेन्स घाईते थियो । त्यहि कमजोरी रह्यो । पुजाको अभाव देखियो । उपाधि होड बाँकी नै छ,' उनले भने, 'एपीएफ राम्रो टिम हो । हाम्रो गल्तिले गोल खायौं । पुजा त्यहा भएको भए खेल बराबर पनि हुन सक्थ्यो ।'
