काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ ।
बिहीबार उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १०-० गोल अन्तरले पराजित गर्दै वालिङले पहिलो जित निकालेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा वालिङलाई जित दिलाउन विदेशी खेलाडी मिथो रुथले दोहोरो ह्याट्रिक गरिन् ।
यस्तै सम्झना शर्माले दुई गोल गर्दा मनमाया दमाई र टौटा ओरेनेला नोईलीले एक एक गोल गरिन् ।
चौदण्डीविरुद्ध एकतर्फी खेल पस्किएको वालिङले सातौं मिनेटमा क्यामरुनी खेलाडी रुथको गोलबाट अग्रता बनाएको थियो । रुथले अमिषा कार्कीको पास सदुपयोग गर्दै गोलरक्षक देविका श्रेष्ठलाई बिट गर्दै गोल गरिन् ।
खेलको नवौं मिनेटमा रुथले व्यक्तिगत दोस्रो गोल गर्दै वालिङलाई २-० को अग्रता दिलाईन् । चौदण्डीका डिफेण्डरको तालमेल नमिलेको फाइदा रुथले उठाईन् ।
खेलको १९ औं मिनेटमा रुथले ह्याट्रिक पुरा गर्दा वालिङ ३-० ले अघि रह्यो । उनी जारी महिला लिगमा सबैभन्दा छिटो ह्याट्रिक पुरा गर्ने खेलाडी बनिन् । रुथले १२ मिनेटको अवधिमा ह्याट्रिक पुरा गरेकी हुन् ।

यस्तै खेलको ३३ औं मिनेटमा मनमायाले गोल गरेपछि पहिलो हाफमा वालिङ ४-० ले अघि रह्यो । लिगमा पहिलो गोल गर्ने क्रममा उनले गोलरक्षक देविकालाई बिट गरिन् ।
दोस्रो हाफमा वालिङ थप ६ गोल गर्यो । खेलको ४९ औं मिनेटमा क्यामरुनी खेलाडी टौटा नोउलीले गोल गर्दै वालिङलाई ५-० को अग्रता दिलाईन् ।
खेलको ६३ औं मिनेटमा रूथले व्यक्तिगत चौथो गोल गर्दा वालिङले ६-० को अग्रता बनायो । चौदण्डीकी गोलरक्षक देविकासँगको वान भर्सेस वानको स्थितिमा रुथले सहजै गोल गरिन् ।
क्यामरुनी रुथले खेलको ७१ औं मिनेटमा व्यक्तिगत पाँचौ गोल गर्दा वालिङको अग्रता ७-० को पुग्यो ।
खेलको ८० औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सम्झनाले गोल गर्दै वालिङलाई ८-० को अग्रता दिलाए ।
पहिलो गोल गरेको एक मिनेट नबित्दै ८१ औं मिनेटमा सम्झनाले व्यक्तिगत दोस्रो गोल गर्दा वालिङ ९-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा रुथले दोहोरो ह्याट्रिक पुरा गर्दा वालिङले १०-० को जित निकाल्यो ।
जारी लिगमा दोहोरो ह्याट्रिक पुरा गर्ने उनि पहिलो खेलाडी बनिन् ।
जितसंगै वालिङले ३ खेलमा ५ अंक जोडेको छ ।
चौदण्डीको यो लगातार तेस्रो हार हो । चौदण्डी अंक विहीन रहेको छ ।
के भन्छन् प्रशिक्षक ?
वालिङका मुख्य प्रशिक्षक दिलिप थापाले गोललाई मध्यनजर गरेर खेल्दा फराकिलो जित निस्किएको बताए ।
'गोललाई मध्यनजर गरेर खेल्यौ । यसको आफ्नै महत्व छ । हामीले ७ गोल खाएकाले धेरै गोल गर्नतर्फ लागेका हौँ । खेल जित्छौ भन्ने आशा थियो । आउने खेल अझै महत्त्वपूर्ण हुन्छ । एपीएफसँग राम्रो खेल्छौं,' उनले भने ।
चौदण्डीका मुख्य प्रशिक्षक दिपक थापाले आउँने खेलमा सुधार गरेर जाने बताए ।
'तीन म्याच खेल्यौ । अझै खेल बाकी छ । ५-६ डिफेन्डर राख्दा नि रोक्न सकेनौं । विराटनगरसँग राम्रो खेल्छौ,' उनले भने, 'तीन अंकको लागि खेल्छौ । आजको गोल अन्तरले गर्दा मनोबल घट्यो । किन हो समिक्षा गर्छु । बल पोजिसन राख्न नसक्दा धेरै गोल भयो ।'