काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले 'बी' डिभिजन लिगका बाँकी खेल खेल्नका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहँन सूचना जारी गरेको छ ।
एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण रोकिएको ३४ खेलहरु फागुन ११ बाट सुरु गर्ने निर्णय गरिसकेको छ ।
तर, खेलाडीहरु क्लबको सम्पर्कमा नआएपछि एन्फाले बुधबार सूचना जारी गरेको हो ।
एन्फाले जारी गरेको सूचनामा खेलाडीलाई क्लबसँग सम्पर्क गर्न अनुरोध गरेको छ । यस्तै एन्फाले खेलाडी सम्पर्कमा नआए कारबाही समेत हुने बताएको छ ।
‘बी डिभिजन क्लबका खेलाडीहरु आफ्नो सम्बन्धित क्लबको सम्पर्कमा नआएको जानकारी प्राप्त भएका कारण सम्पुर्ण खेलाडीलाई तुरुन्तै आफ्नो क्लबको सम्पर्कमा रहिदिनुहुन यसै सूचना मार्फत जानकारी गराईन्छ ।’ एन्फा महासचिव इन्द्रमान तुलाधरले हस्ताक्षर गरेको सूचनामा भनिएको छ,‘सूचनाको पालना नगरी सम्पर्कमा नआउने खेलाडीहरुलाई एन्फाले नियम बमोजिम कारबाही गर्ने जानकारी गराईन्छ ।’
गत वर्षको चैत ११ गते देश लकडाउनमा गएपछि एन्फाले जारी रहेको 'बी' डिभिजन लिग स्थगित गरेको थियो । लिग स्थगित भएपछि १२ क्लबले खेलाडीलाई छाडेका थिए । तर, लिग सुरु हुनै लाग्दा
खेलाडीहरु सम्पर्क बाहिर रहेपछि क्लबले एन्फालाई सहयोग मागेको हो ।
पछिल्लो समय एन्फाले लिग आयोजना नगर्दा खेलाडीहरु मोफसलमा चल्ने प्रतियोगितामा ब्यस्त रहेको बुझिएको छ । केहि खेलाडीको भने परिवारले नै निस्कन नदिएको समेत बुझिएको छ ।
'बी' डिभिजन लिग संयोजक कुमार राज भण्डारी मोफसल र कोरोनाको डरकै कारण खेलाडीलाई परिवारले खेल खेल्न नदिएका कारण उपस्थित हुन नसकेको बताउँछन् ।
‘समय यस्तो छ । खेलाडी खेल खेल्न आउन मानिरहेको छैनन् । केहि खेलाडी मोफसल खेलेको सूचना पाएका छौं । धेरैको परिवारले कोरोनाको डरको कारण नछोडेको पनि बुझेका छौं ।’ संयोजक कुमारले खेलपाटीसँग भने ।
'बी' डिभिजन क्लब आरसिटीका उपाध्यक्ष समेत रहेका कुमारले आफ्नो क्लब सहित अन्य ४–५ क्लबको खेलाडी सम्पर्कमा नआएको बताए ।
‘अरुको मात्रै हैन, हाम्रोमा पनि खेलाडी खेल्न आएका छैनन् ।’ उनले भने ।
